नेपाल कम्यनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ओली–प्रचण्ड विसर्जनवादी भएकाले अब विप्लव र वैद्यसँग पार्टी एकता गर्ने घोषणा गरेका छन्।

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष कट्टेलले ओली–प्रचण्ड कम्युनिष्ट नभएको दाबी गर्दै वैद्य र विप्लवसँग पार्टी एकता गर्ने खुलासा गरेका हुन्।

साक्षात्कारमा अध्यक्ष कट्टेलले वर्तमान सरकार दलाल पूँजीवादी बनेको आरोप लगाउँदै जनताले विकल्प खोजेको दाबी गरे।

उनले भने,‘ओली–प्रचण्डजीहरू आफूलाई कम्युनिष्ट हौं भन्दै जनताका बीचमा जानुभयो, जनताले उहाँहरूलाई भोट पनि दिए। तर, ८ महिनामा दुईतिहाइ सरकारका कामकारबाही जनताले हेरिसके। अबको विकल्पको रूपमा हामी उभिनेछौं, खासमा कम्युनिष्ट मुलधारमा आउनुपर्छ, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव र म एक ठाउँमा उभिएर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर राख्नुपर्छ भन्नेमा छौं, हामी एक हुन्छौं ।’

निर्वाचन आयोगले हिजोमात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आधिकारिक रूपमा नाम दिएको कुरा सञ्चार माध्याममा सुनेको बताउँदै अध्यक्ष कट्टेलले आफूहरू त्यसविरूद्धमा अदालत जाने पनि जानकारी दिए ।

उनले भने,‘नाम फरक देखाउनको लागि ओली–प्रचण्डले कोष्ठभित्र (नेकपा) राख्नुभएको छ, त्यो सरासर गलत छ, यो जनतालाई भ्रममा पार्ने खेलपनि हो। जनता यसप्रति सजग हुनुपर्छ। निर्वाचन आयोगलेसमेत गल्ती गरेको छ, उहाँहरूले सत्ता र शक्तिको भरमा बलजफ्ती गर्न थाल्नुभएको छ, हामीले अदालतमा पनि बलजफ्ती गरेको भेट्यौं भने त्यसपछि बलजफ्तीको विकल्प हामी पनि अपनाउँछौं, जसले जति बल गर्नसक्छ सक्छ।’

उनले दल दर्तासम्बन्धी ऐनलाई धज्जी उडाउँदै सरकारी शक्तिको आधारमा कम्युनिष्ट सरकारको नाममा हेप्न खोजे राम्रो नहुने चेतावनी दिए। अध्यक्ष कट्टेलले अनुचित काममा हात नहाल्न प्रचण्ड–ओलीलाई समेत कडा चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार