‘१४ वर्षको कारावास र त्यसमध्ये ४ वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त म मर्नुपथ्र्याे तर म मरिन । त्यसैले मैले चुपचाप सहेको थिएँ । मेरो छनोट भएको भए तपाईं मलाई मूर्ख भन्न सक्नुहुन्थ्यो तर त्यो मेरो छनोट थिएन ।’’

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनमा भाग लिने क्रममा न्यूयोर्कमा एशिया समाजको पोलिसी इन्स्टिच्युटले आयोजना गरेको अन्तरक्रियामा सो भनाइ राख्दा सबै ध्यान दिएर सुनिरहेका थिए । कार्यक्रमका सञ्चालक, अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा समाजका प्रथम अध्यक्ष केभिन रडले ‘‘प्रजातन्त्रका लागि सङ्घर्षका क्रममा १४ वर्षको कारावास र त्यसका चार वर्ष एकल कोठरी वासलाई तपाईंले व्यक्तिगत रूपमा र आध्यात्मिक रूपमा कसरी सहनुभयो ?’’ भन्ने प्रश्न गरेका थिए ।
‘मैले प्रजातन्त्रका लागि लडेको थिएँ । मैले प्रजातन्त्र मागेको थिएँ, कारावास होइन । मलाई समातियो र कारागारमा राखियो, त्यो मेरो छनोट थिएन । म बाँचेसम्म त्यहाँ बसें ।’
उनले भने, ‘अवस्था पक्कै पनि सकारात्मक थिएन । अहिले कारागारमा अवस्था निकै फरक छ । अहिले प्रहरीले यातना दिन पाउँदैन । कारागारमा भोकै राख्न पाइँदैन तर डेढ महिना मलाई खाना नदिईकनै राखियो । मलाई निकै यातना दिइयो ।’’
‘‘तर त्यस समयमा कराउने कोही थिएन । कसैले पनि प्रश्न गरेन । त्यो एउटा सामान्य कुरा थियो । म निरङ्कुशताको विरोधमा थिएँ । कसैले निरङ्कुशतन्त्रको विरोधमा संघर्ष गथ्र्याे, आवाज उठाउँथ्यो भने उसले पीडा भोग्नैपथ्र्याे । यो साधारण कुरा थियो’’, त्यतिबेलाको यातना र पीडालाई सहज रुपमा लिँदै उनले भने ।
‘कारागारको जीवन सम्झना गर्नयोग्य कुरा होइन । त्यो कठोर, दुःखदायी, यातनायुक्त थियो । मैले निरन्तर रूपमा संघर्ष गरेँ । म झुकिन किनभने भविष्यको पुस्ताका लागि अवस्था परिवर्तन गर्नैपर्ने थियो । हामीले सबैकुरा सहनुपथ्र्याे र त्यो अवस्थालाई पुस्तौंपुस्ताले मैले जस्तै भोग्नुपर्ने अवस्था छोड्नु हुन्थेन । हामीले निरङ्कुशतन्त्र अन्त्य गर्नुपथ्र्यो ।’
कार्यक्रममा अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री रडको एउटा प्रश्नको भाव यस्तो थियो ‘वर्तमान राजनीतिक अवधिमा तपाईंहरूको गत चौथाइ शताब्दी निकै राम्रो छ । तपाईंहरू सन् १९९० मा प्रजातन्त्रमा फर्कनुभयो । तपाईंहरू सन् २०१५ मा नयाँ संविधान घोषणाको निकै यातनापूर्ण मार्गबाट अगाडि बढ्नुभयो । गत वर्ष निर्वाचन भयो । तपाईं नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट ६४ प्रतिशतको बहुमतले विजयी हुनुभयो । तपाईं संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित हुँदा ७८ प्रतिशत बहुमत तपाईंको समर्थनमा भएको मलाई भनियो । संसद्मा सरकारले कार्यक्रम प्रस्तुत गर्दा तपाईंलाई संसद्को शतप्रतिशत समर्थन थियो । मैले अष्ट्रेलियामा त्यो प्राप्त गर्न सकिन । किन ?’’
अन्तरक्रियामा प्रधानमन्त्री ओलीले इतिहासमा नेपाल सधैँ स्वतन्त्र मुलुक बनेको अवस्था उल्लेख गर्दै राणाशासन र अन्य निरङ्कुशतन्त्रका विरोधमा जनताले गरेका सङ्घर्ष, राजतन्त्रको अन्त्य, हतियारको व्यवस्थापन र संविधानसभामार्फत नयाँ संविधान र गणतन्त्रको स्थापनाका बारेमा जानकारी दिएका थिए ।
उनले माओवादीले मात्रै हतियार उठाएको नभई राणाशासनको विरोधमा कङ्ग्रेस पार्टीले पनि हतियार उठाएको तर हिंसाबाट समस्या समाधान गर्नु त्यतिबेला सबैभन्दा महत्वपूर्ण भएको बताउँदै अहिले राजनीतिक दलले हिंसाको नीतिलाई पूर्णतया छाडेको र कुनै एक समयमा उनीहरूले बन्दूकको गोलीबाट राजनीतिक शक्ति आउने कुरा बताए पनि अहिले उनीहरूले मतपत्रबाट यस्तो शक्ति आउने बताउन थालेको उल्लेख गरे ।
‘‘नेपालका सबै ठूला राजनीतिक दलले कुनै न कुनै समय हतियार उठाएकै हुन् । पछिल्लो समयमा सबै एकै स्थानमा आएर गोलीले भन्दा जनताको मतले परिवर्तन र शान्ति स्थापना गर्न सकिन्छ भनेर उनीहरूले देखाए । नेपालको शान्ति प्रक्रिया मौलिक प्रकारको छ र यसलाई विश्वसामु प्रस्तुत गर्नुपर्छ ।’’







