डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा स्क्रब टाइफस रोगको संक्रमणका कारण दुई जनाको ज्यान गएको छ ।डडेल्धुराको अजयमेरु गाउँपालिकाकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलंगाकी ९ वर्षीया बालिका गंगा पन्तको स्क्रब टाइफसको कारण ज्यान गएको हो ।
भट्टको उपचारका क्रममा धनगढीमा र पन्तको नेपालगञ्जमा मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पछिल्लो ४१ दिनको अवधिमा १ सय ३० जनालाई जाँच गर्दा ५० जनामा स्क्रब टाइफस रोगको संक्रमण देखा परेको छ । संक्रमित ५० जनाको अहिले उपक्षेत्रीय अस्पताल उपचार भइरहेको छ । उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जिउमा रातो दाग देखा पर्ने, टाउको धेरै दुख्ने लक्षण देखापरे लगत्तै अस्पताल जानुपर्ने चिकित्सकको सुझाव छ ।
रोगको समयमै उपचार नभएमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिन्छ र बिरामीको ज्यान पनि जाने गर्दछ ।







