ताराखोला–५ करिमेलाका मानबहादुर घर्ती १५ वर्षदेखि खुट्टामा गोली लिएर बसिरहेका छन् । पूर्वमाओवादी लडाकु घर्तीले आर्थिक अभावका कारण दायाँ खुट्टामा जनयुद्धका वेला लागेको गोली अझै निकाल्न सकेका छैनन् । घर्ती तत्कालीन दुर्गा भवानी निमाविमा कक्षा आठमा पढ्दै गर्दा ०५८ सालमा १७ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिएका थिए ।

२४ असोज ०६० मा दाङको भालुबाङमा सुरक्षाकर्मीसँगको भिडन्तमा घर्तीलाई गोली लागेको हो । त्यतिवेला घाइते हुँदा उनलाई पार्टीले उपचारका लागि भारत लग्यो । तर, खुट्टाको गोली भने झिकिएन । ‘त्यतिवेला भारतीय डाक्टरले गोली र छर्रा हाडमासुमा मिलेर बसेको छ, निकाल्नुपर्दैन भने,’ विगत सम्झिँदै घर्तीले भने, ‘गोली निकाल्दा अझ बढी पीडा र समस्या हुन्छ भनेकाले गोली बोकेरै बसिरहेको छु । थप उपचारका लागि सरकारबाट सहयोग पनि पाएको छैन ।’ जनयुद्धमै लागेका घर्तीका माइला दाजु बाजेन्द्र घर्ती अझै राज्यद्वारा बेपत्ताको सूचीमा छन् । घर्ती आमा, श्रीमती, भाइबुहारीसहित सगोलकै परिवारमा बस्दै आएका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि फेरि पढाइ सुरु गरेका प्रज्ज्वलले प्लस टु पास गरेका छन् । हाल उनी आफूले सानामा पढेको भवानी माविमा निजी स्रोतको शिक्षकका रुपमा कार्यरत छन् । विद्यार्थी पढाएबापत आउने थोरै तलब उनको जीवन जिउने आधार बनेको छ ।

राज्यबाट राहत र उपचार पाएनन्

जनयुद्धमा घाइते भए पनि आफूले राज्यबाट कुनै पनि सेवा, सुविधा र राहत नपाएको उनले गुनासो गरे । ‘मैले उपचार खर्चसमेत पाएको छैन । सरकारले धेरैलाई उपचार र राहत बाँडेको सुन्छु, तर मलाई कसैले त्यस्तो सहयोग गरेनन्,’ उनले दुखेसो पोखे । तराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने विगतमा विवरण भर्न छुटेकाले मानबहादुरले उपचार खर्च र राहत नपाएको बताए ।

‘यसपटक हामीले उहाँको विवरण मन्त्रालयमा पठाएका छौँ, पक्कै पनि उहाँको उपचार हुन्छ,’ अध्यक्ष घर्तीले भने । गोली लागेको खुट्टामा बेलाबेलामा दुख्ने गरेको उनले बताए । उमेर ढल्किँदै गएपछि झन् दुख्ने हो कि भन्ने चिन्ताले उनलाई सताउन थालेको छ ।

नयाँ पत्रिकाका लागि नारायण रिजालले बाग्लुङबाट तयार पारेकाे रिपाेेर्ट । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार