जनकपुरधाम : धनुषाको हंशपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलमाथि कार्यकक्षमै हातपातको प्रयास भएको छ।
बुधबार नगरपालिका कार्यालयमा मेयर मण्डलमाथि सोही नगरपालिकाको ४ नम्बर वाडको बाटो ग्राभेल उपभोक्ता समितिका अध्यक्ष ३५ वर्षीय रामहृदय यादव र स्थानीय २७ वर्षका दीपनारायण यादवले हातपातको प्रयास गरेका हुन्।
दुवैजनाले मेयर मण्डलमाथि हातपात गर्न खोजेपछि स्थानीय विजय मण्डल कुटिए। बाटो ग्राभेलको लामोसमय बितिसक्दा समेत भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिका अध्यक्ष यादव र उनका सहयोगी मेयरमाथि खन्निएका हुन्।
कार्यकक्षमै आफुमाथि भएको हातपातको प्रयास र आफूलाई बचाउन खोजेका विजय मण्डलमाथि कुटपिट गर्ने अध्यक्ष यादव र उनका सहयोगी दीपनारायणलाई कार्वाहीको माग गर्दै मेयर मण्डलले दुवैजना विरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएका हुन्।
घटना पश्चात हातपात गर्ने अध्यक्ष रामहृदयलाई प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएपनि बुधबार राति नै छोडेको थियो।
त्यसपछि बिहीबार बिहानैदेखि मेयर मण्डलसहित स्थानीय जिल्ला प्रहरी कार्यालय पुगेका थिए। सुरुमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले अनुसन्धान पश्चात मात्र मुद्दा दर्ता गर्ने भन्दै जाहेरी दर्ता गर्न नमाने पनि मेयर मण्डलको दबाबपछि प्रहरीले हातपातको प्रयास गर्न खोज्नेविरुद्ध जाहेरी दर्ता गरेको हो।
मेयर मण्डलले उपभोत्ता समितिबाट भएको काममा त्रुटी गरेको शंका लागेका केही उपभोक्ता समितिको भुक्तानी रोकेको र छानबिन पश्चात मात्र आर्थिक वर्ष २०७५।०७६ मा भुक्तानी गर्ने नगरपालिकाबाट निर्णय नै गरिएको बताए। तर, उपझोत्ता समितिका अध्यक्ष यादवले आफूलाई फोनमा समेत धाकधम्की दिएको र कार्यालयमा समेत आएर आफूमाथि हातपात गर्ने प्रयास गरेकाले कडा कार्वाही हुनुपर्ने माग रहेको मण्डलले बताएका छन्।







