पार्टीकै लागि थियो भने त तपाईले प्रचण्डको घरमा गोप्यरुपमा राजीनामा लेख्नुपर्थ्यो र ? तपाईले जसले टिकट दिएर सांसद हुनुभयो, संसदीय दलको नेता पनि रहेका केपी ओलीलाई झुक्याएर गर्न खोज्दा कतै डिजाइन पो थियो कि भन्ने आरोप आयो नि तपाईमाथि ?

होइन । यी कुराको अर्थ छैन । म तपाईलाई भनौं, सिंगो पार्टी मिलाउन मैले यो कदम चालेको हुँ । सचिवालयमा औपचारिक-अनौपचारिक रुपमा बामदेवलाई चुनाव लडाउने कुरा भएकै हो । एकपटक मन्त्रीले नै छाड्ने कुरा पनि आएको हो नि । जनताले मानेनन् भनेर पछि ‘ब्याक’ भयो ।

मेरो भनाइ के भने जनतालाई सोध्न थालियो भने त कहाँ मान्छ र, हामीलाई ५ वर्षका लागि जिताएको जनताले । एक-एकजनासँग सोध्दै हिँडेर पनि साध्य हुने कुरा होइन यो ।

हुन त पत्र नै दिनुपर्ने त थिएन । आवश्यकता पर्दा पार्टीले ल तपाई फिर्ता आउनुस् भन्दा पनि पुग्थ्यो । तर, मलाई के लाग्यो भने वामदेव गौतमको नामै किटेर यो पत्र लेखिएन भने काम हुँदैन । मेरो त्यो मानसिकतासँग पार्टी जोडियो । पार्टी भनेको मेरा लागि घरपरिवार हो । मैले देखेँ, मेरो परिवारमा केही मिलिरहेको छैन ।

अनि प्रचण्डको निवासमा राति बसेर किन लेख्नुपरेको त त्यो पत्रचाहिँ ?

प्रचण्ड नभन्नुस न । हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष हो क्या ।

संसदीय दलको नेतालाई लेख्नुपर्ने होइन र सांसदले राजिनामा दिने पत्र ?

तपाईलाई नै म सोध्छु- हाम्रो पार्टीमा दुईजना अध्यक्ष हुनुहुन्न र ? हुनुहुन्छ भने यसमा किन आपत्ति ? संसदीय दलको नेता प्रधानमन्त्री कति व्यस्त हुनुहुन्छ । उहाँलाई होइन, उहाँको पीएलाई पनि मसँग कुरा गर्न फुर्सद हुन्छ र ?

त्यसकारण अध्यक्षलाई लेखेको हो । कमरेड केपी ओलीले प्रचण्ड अध्यक्ष होइन भन्नुहुन्छ भने म त्यो पत्र फिर्ता लिन्छु र गल्ती स्वीकार गर्छु । तर पार्टीको अध्यक्षको घरमा नगई म बाटोमा बसेर पत्र लेख्छु त ? मैले पार्टीको अध्यक्षमा गएर लेखेको हो ।

तर, उहाँले मलाई भन्नुभएको थियो- तपाईलाई धेरै गाह्रो हुन्छ ।

वामदेवका लागि यत्रो बलिदानी गर्न किन तयार हुनुभयो तपाई ? जब कि तपाई पार्टीभित्र कहिल्यै पनि वामदेवको लाइनमा देखिनुभएन, केपी ओलीकै विश्वासपात्र मानिनुहुन्थ्यो । एकाएक वामदेवप्रति यस्तो भावुकता कहाँबाट आयो ?

तपाईलाई एउटा कुरा भन्छु- जनताले हामीलाई दुईतिहाईको हाराहारी मत दिए । सरकार बनेको पनि दुई सय दिन पुगेको छ । यो बीचमा बजेट आयो, दशैं सकियो खै त ? तपाई एकपटक तीन करोड मान्छेको बीचमा जानुभयो भयो के भन्छन् ? सोध्नुस न ।

त्यही भएर बामदेव चाहियो ?

जबसम्म घर मिलाउन सकिन्न, तबसम्म हुँदैन । अहिले सरकार चलाउने प्रधानमन्त्री नै के भन्नुहुन्छ भने मन्त्रीले सहयोग गरेनन् । पार्टीले सहयोग गरेन । कार्यकर्ता अरिंगाल बनेनन् । यो भन्नुपर्ने कारण खोज्नुभयो भने धेरै अभाव त खड्किन्छ हेर्नुस् । वामदेव नभएर अप्ठेरो परेको महसुस भएको छ ।

तपाईसँग चाहिँ प्रधानमन्त्रीले के भन्नुभयो पछिल्लो भेटमा ?

प्रचण्ड कमरेडलाई यदि वामदेव कमरेडले कन्भिन्स नगरेको भए कुनै हालतमा संविधान जारी हुने थिएन । संविधान जारी हुने सवालमा सबैभन्दा प्रमुख रोल चाहिँ उहाँ (बामदेव) को छ भन्छु ।

उहाँले एकपटक सल्लाह गर्न पाएको भए हुन्थ्यो भन्नुभयो । तपाईले दिइहाल्नुभयो यो राजीनामाचाहिँ स्वीकृत गरौंला नि त भन्नुभयो, सारमा त्यति नै हो । त्यसको बीचमा धेरै लामो कुरा भयो । ४५ मिनेट उहाँका कुरा सुनेँ । अब ती कुरा पुराना भइसके, किन कोट्याउनु ?

प्रधानमन्त्रीसँग पनि मेरो कुनै सिकायत होइन, दुई तिहाईको कम्युनिस्ट सरकारको हालत के छ हेर्नुस न । कहीँ पनि राम्रो कुरा छैन । मिडिया र सोसल मिडियामा हेर्नुस । उहाँ अहिले बिरामी हुनुहन्छ, तर कस्तो कुरा आइरहेको छ हेर्नुस त ।

संवदेनशीलता नै जाला जस्तो भयो । त्यस्तो पपुलर नेता, राष्ट्रियताको अडानमा बसेको मान्छे एकैचौटि ६/८ महिनामै सकिनु भनेको के त ? यसको मतलब के भन्दा हाम्रो परिवार नै मिलेन । तपाई मान्नुस नमान्नुस, पार्टीभित्र जब नेताहरु एक ठाउँमा हुन्नन्, यो हुन्छ नै ।

तपाईले गर्दा वामदेवको चुनाव लड्ने च्याप्टर नै क्लोज भयो, यसले तपाईलाई बेकार फण्डा गरेछु जस्तो लागेन ?

पहिलो कुरा यो फण्डा होइन । दोस्रो कुरा वामदेवको च्याप्टर क्लोज भएको छैन । उहाँका लागि यो क्षेत्रमा जहिले पनि ओपन छ । यो चाहिँ ख्याल गर्नुस् । यो क्षेत्रचाहिँ उहाँका लागि जहिले पनि खुला छ । सहज ढंगले चुनाव जिताउन सकिन्छ उहाँलाई । संगठनात्मक रुपबाट यति मजबुत ठाउँ हो, मजस्तोले चुनाव लडेर जित्छु भने बामदेव कमरेडले नजित्ने कुरै छैन ।

बामदेवलाई यहाँ चुनाव लड्न नदिने तत्व चाहिँ को भयो त ?

हा हा हा ..यो पनि एउटा प्रकरण नै भयो । पार्टीभित्रै धेरै प्रकरण हुने रहेछन् हेर्नुस न । मेरो त के कुरा भयो, तर बामदेव कमरेडका लागि चाहिँ यो प्रकरण नै भयो । किनभने, वामदेव कमरेडलाई रोक्न खोज्ने तत्व हाबी भए ।

को हुन् त तिनीहरु ?

म तपाईलाई यसमा अलिकति पृष्ठभूमि बताउँछु । ०७० सालको चुनावपछि हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष कमरेड झलनाथ खनाल संसदीय दलको नेता बन्न खोज्नुभयो । संसदीय दलको नेता जहिले पनि पार्टी अध्यक्षनै हुने प्रचलन हो हाम्रो पार्टीमा । तर, हामीले चाहिँ पार्टीको अध्यक्षलाई होइन, केपी शर्मा ओलीलाई दलको नेतामा जितायौं ।

त्यसको श्रेय कसलाई जान्छ ? मलाई जाँदैन । म एउटा मतदातामात्र हुँ । सोध्नुस तपाईले ओलीलाई कसले नेता बनायो त भन्दा वामदेव कमरेडले हो । त्यसको लगत्तै पार्टीमा नवौं महाधिवेशन भयो । ५० मतले मात्रै कमरेड केपी ओलीले अध्यक्ष जित्नुभएको छ ।

यसमा मलाई जेसुकै भन्नुस, मनमा लागेको कुरा सत्य कुरा भन्नुपर्छ । ५० मतले जित्ने अवस्था त वामदेवले गर्दामात्रै सम्भव भएको हो । त्यसपछि संविधान बनाउने सन्दर्भमा जाउँ, बामदेव कमरेडले पहल नगरेको भए संविधान जारी हुने थियो ? एकपटक छातीमा हात राखेर सोच्नुपर्छ हेर्नुस् ।

प्रचण्ड कमरेडलाई यदि वामदेव कमरेडले कन्भिन्स नगरेको भए कुनै हालतमा संविधान जारी हुने थिएन । संविधान जारी हुने सवालमा सबैभन्दा प्रमुख रोल चाहिँ उहाँ (बामदेव) को छ भन्छु । किनभने उहाँलाई धेरै आरोप थियो हिजो पनि माओवादी बन्यो भन्ने ।

पार्टी एकताका लागि पनि बामदेव गौतमकै मुख्य भूमिका रहृयो । को-को चाहिँ पार्टी मिलाउनुपर्छ भन्ने र को को हुँदैन भन्ने थिए ? सबैलाई थाहा छ । यो पार्टी एकता त बामदेव कमरेडकै जिकरमा भएको हो । त्यसकारण यत्रो कम्युनिस्ट पार्टी बनाउने कुरा चानचुने होइन ।

अब तपाईको कुरालाई यसरी संश्लेषण गरियो भने सही हुन्छ कि हुन्न ? केपी ओलीलाई संसदीय दलको नेता बनाउने, पार्टी अध्यक्ष बनाउने, पार्टी एकता गर्ने, संविधान निर्माणमा नेतृत्व गर्ने बामदेवको भूमिकालाई तपाईले सम्मान गर्न खोज्नुभयो । तर, ओलीले चाहिँ नजरअन्दाज गर्नुभयो होइन त ?

नजरअन्दाज गरे गरेनन्, म हाम्रा श्रद्धेय अध्यक्षहरुलाई यसमा जोड्न चाहान्न । तर, वामदेव जुन सात सय मतले हार्नुभयो भनिएको छ, यसमा ठूलो षडयन्त्र त भएकै हो । धेरै कुरा त बाहिर आएका छन् । ५० वटा गाउँ रहेछन्, एकपटक छिरेपछि अर्कोमा के-के भयो थाहा नहुने । धेरै खेल भए । उहाँ हारेको होइन, हराइएको थियो ।

तर, यही प्रकरणले तपाईलाई विदेशीको एजेण्ट पनि बनायो नि होइन ?

आरोप लगाउने श्रद्धेय नेताहरुले प्रमाणित गर्नुभयो भने म यो देशमा बस्दिनँ । यति मात्र होइन ममाथि चारवटा मुख्य आरोप लागेको तपाईले पनि भन्नुभयो ।

केपी ओली हटाउने, पैसामा सांसद पद बेचेको, भारतीय डिजाइनमा काम गरेको र पार्टीमा नेताहरुबीच अविश्वास सिर्जना गराउने मतियार बनेको आरोप लगाइएको छ । यी चारवटै कुरा प्रमाणित भयो भने देशमै बस्दिना म । राजनीतिको त कुरै छाडौं, देशै छाड्छु ।

केपी ओलीसँग के कुरा नमिलेर एउटा कित्ताबाट अर्को कित्तामा पुग्नुभयो त होइन ?

म हिजो नेकपा एमालेमा थिएँ, आज नेकपामा छु । प्रचण्ड अध्यक्ष होइन भनेर कसैले भन्देओस् न त ।

केपी ओलीले मन्त्री नबनाएको झोंक हो कि ?

मन्त्री बनाउन चाहेका भए अरु पनि बन्थे नि । मैले आग्रह राखेको होइन । योग्य र क्षमतावानलाई मन्त्री बनाउनुस् मात्र भनेको हो ।

दुईपटक सांसद पनि हुनुभयो तर मन्त्री पनि बन्न नपाउने, संसदीय समितिको सभापति पनि पाउनुभएन, केन्द्रीय सदस्य पनि पाउनुभएन, त्यसैले पनि तपाईमा फ्रस्टेशन आयो कि ?

होइन, मैले भनिसकेँ नि । म देशै छाड्न तयार हुने मान्छे । पार्टीले जिम्मा दिएको पूरा गर्ने हुँ । ५७ वर्षको उमेर पुग्दा फ्रस्टेशन भएर भाग्नेवाला होइन । प्रधानमन्त्री केपी ओलीको जुन कुरा गर्नुभयो, पार्टीमा उहाँले मिलाउन नसकेको चाहिँ हो ।

आज पार्टीमा लथालिंग अवस्था छ । सरकारको अवस्था त्यस्तै छ । यसको दोष कसले लिने त ? मैले यति प्रश्न गरेको हुँ । मलाई अरु लोभ होइन । वडाध्यक्ष दुई पटक, सांसद दुईपटक भइसकेँ । मैलेमात्र किन, अरु साथीले पनि पालो पाउनुपर्छ भन्ने मान्छे हुँ म त ।

तपाईलाई मन्त्री बनाउने आश्वासन दिइएको थियो रे नि प्रचण्ड र बामदेवबाट होइन ?

मन्त्री त पार्टीले बनाउन चाहे म उपप्रधानमन्त्रीसम्म पनि हुन सक्छु नि । प्रधानमन्त्री बन्नचाहिँ संसदीय दलको नेता हुनुपर्छ ।

मन्त्रीचाहिँ ग्यारेन्टी गरिएको थियो ?

पार्टीले चाहृयो भने मन्त्री पनि दिन्छ, केन्द्रीय सदस्य र राष्ट्रियसभामा पनि लान सक्छ । तर, मलाई कसैले पनि यी पद दिने भनेको होइन र मैले मागेको पनि होइन । पार्टीले आवश्यक ठान्यो भने कुनै दिन मलाई दिन्छ होला ।

तर्पाइले केपी ओलीको चाहिँ साह्रै चित्त दुखाउनुभयो होइन त ?

पाँच हजार केन्द्रीय सदस्य भएको पार्टीलाई ४४१ मा अटाउने मान्छे पनि प्रचण्ड नै हो । प्रचण्डको आधारमा चाहिँ धेरै कुरा हामीले सिक्नुपर्छ, यदि कम्युनिस्ट पार्टी बनाउने हो भने ।

चित्त दुःखाउनु नपर्ने हो । उहाँले त चित्त दुखाउनु नपर्ने हो, पार्टीका लागि त्याग गर्ने कार्यकर्ता पनि रहेछन् भनेर खुसी हुनुपर्ने हो ।

अनलाइनखबरसँगकाे कुराकानीकाे सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार