स्याङ्जा । स्याङ्जामा नेपालमै पहिलो पटक प्याराग्लाइडिङ एक्युरेसी वर्ल्डकप २०१८ सुरु भएको छ । प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजना तथा स्याङ्जाका ११ वटै स्थानीय तहको संयोजकत्वमा प्रतियोगिता सुरु भएको हो ।
युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । स्याङ्जाको स्वरेक मैदानमा बिहीबार आयोजित विश्कप प्याराग्लाइडिङ प्रतियोगिता शुभारम्भका क्रममा उनले नेपाली खेलाडीहरुले छोटो समयमै यस खेलको माध्यामबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएको चर्चा गरे ।

राज्यले खेलाडीको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै उनले नेपालमा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताका साथै धेरै ठाउँमा अन्य साहासिक खेल खेल्न सकिने भएकाले प्रकृतिले दिएको उपहारलाई सक्दो सदुपयोग गरिनेमा जोड दिए । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका क्यानडालगायत २१ देशका करीब १०० भन्दा बढी खेलाडी सहभागी भएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष एवं सचिवालय संयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ एकल र महिला तथा पुरुष गरी कूल चार इभेन्ट्सको खोल हुनेछ । भीरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानमा बिहीबारबाट शुरु भएको प्रतियोगिता कात्तिक १८ गते वालिङ नगरपालिका–११ डौवाफाँटमा समापन हुनेछ ।







