काठमाडौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पूर्ण रुपमा स्वास्थ्य लाभ प्राप्त गर्नुभएको छ । उहाँ अब पूर्ण रुपमा ठिक भएकाले अस्पतालबाट डिस्चार्ज गरेको अस्पताल प्रशासनले जनाएको छ । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य बनेपछि त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टरले डिस्चार्ज लेखेको हो ।
सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले ओली समान्य बनेको बताउनुभएको छ । उहाँले ओलीको आज बिहान परीक्षण गरिएका सबै रिपोर्टहरू समान्य रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको डिस्चार्ज भैसकेको भन्दै केहीबेरमा निवास फर्कने जानकारी दिनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्वास्थ्य लाभ गरेर फर्किन लागेका ओलीलाई स्वागत गर्न नेता तथा उच्च अधिकारीहरु बसिरहेका बुझिएको छ ।
छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार ओली अस्पताल भर्ना हुनुभएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोलीले उपचार गरेको थियो ।







