निर्मला हत्याको सय दिन

काठमाडौं, १६ काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन भयो, तर अझै हत्यारा पत्ता लागेको छैन । निर्मलाको हत्यारा पत्ता लगाएर कारबाहीको माग गर्दै आन्दोलन भयो, संसदमा आवाज उठ्यो, हत्यारा पत्ता लगाउन सात वटा छानबिन समिति बन्यो, सयौंसँग सोधपुछ भयो, केहीको डिएनए परीक्षण भयो, एसपी र इन्सपेक्टर बर्खास्त भए, केही प्रहरी निलम्बित भए । सय दिनको बीचमा थुप्रैथुप्रै घटना भयो, तर हत्यारा पत्ता लाग्न सकेको छैन । जसकारण सरकारको चौतर्फी आलोचना भइरहेको छ । सरकारले नै हत्यारालाई संरक्षण गर्न खोजेको आरोप छ ।

निर्मलाको हत्या, हत्यापछि उठेको जनआवाज, बलात्कारी एवम् हत्यारालाई कारबाहीसँगै निर्मलाको न्याय लागि भएका आन्दोलन र हत्यारा पत्ता लगाउन भएका प्रयासको श्रृङ्खला यस्तो छ ।

साउन १०ः बलात्कारपछि हत्या

१० गते निर्मलाको बलात्कारपछि हत्या भयो । साथीको घरमा पढ्नका लागि भन्दै गएकी निर्मलाको बलात्कारपछि हत्या भएको हो ।

साउन ११ः शव भेटियो

साथीको घरमा पढ्नका लागि गएकी छोरी अबेलासम्म घर नफर्किएपछि निर्मलाका बाआमाले खोजी गरे । प्रहरीमा उजुरी दिए । ११ गते घरभन्दा अलि परको उखुबारीमा निर्मलाको शव भेटियो । चोट लागेको र अर्धनग्न स्थितिमा शव फेला परेको थियो ।

साउन १४ः अनुसन्धानका लागि सिआईबीको टोली परिचालन

बलात्कारपछि हत्या भएको प्रमाणित भएपछि साउन १४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआईबी)को टोली घटनाको अनुसन्धानका परिचालन भयो । टोलीले अनुसन्धान प्रयास गर्यो । घटनास्थल र शव भेटिएको ठाउँमा जान प्रतिबन्ध लगायो ।

भदौ ४ः दिलिपसिंह विष्ट सार्वजनिक

घटना भएको २५ दिनपछि अर्थात् भदौ ४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सिआईबीको टोलीले दोषी भन्दै स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गर्यो । मानसिक सन्तुलन ठिक नभएका विष्टलाई प्रहरीले अभियुक्तका रुपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।

भदौ ५ः आन्दोलन चर्कियो

मानसिक सन्तुलन गुमेका दिलिपसिंह विष्टलाई प्रहरीले जबरजस्त दोषी करार गर्न खोजेको भन्दै स्थानीय आन्दोलनमा उत्रिए । प्रहरीले वास्तविक दोषी उम्काउन विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको भन्दै स्थानीयले गरेको आन्दोलनलाई मानवअधिकारवादीलगायतले साथ दिए । आन्दोलन उग्र बन्दै गयो ।

भदौ ६ः एसपी विष्ट र सिडियोको सरुवा

स्थानीयको आन्दोलन प्रहरीकेन्द्रित हुन थालेपछि कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट, तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार खड्का र जिल्ला प्रहरी कार्यालयका तत्कालिन असई ज्ञानबहादुर सेठिको सरुवा भयो ।

भदौं ७ः छानबिन समिति गठन

घटनामा प्रहरीकै भूमिका शंकास्पद देखिएपछि भदौ ७ गते गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्सीय छानबिन समित गठन भयो । अनुससन्धानका लागि टोली घटनास्थलमा खटियो । अनुसन्धानकै क्रममा समिति संयोजकले राजीनामा घोषणा गरे । पछि फेरि काममा फर्किए ।

भदौं ८ः शनी खुनाको मृत्यु

छानबिन समिति गठन भए पनि स्थानीयले आन्दोलन रोकेका थिएनन् । भदौ ८ गते झन् ठूलो प्रदर्शन भयो । स्थानीयको प्रदर्शनमाथि प्रहरीले गोली चलायो । प्रहरीले चलाएको गोली लागेर १६ वर्षीय शनी खुनाको मृत्यु भयो । दर्जनौं घाइते भए ।

भदौ ९ः एसपी विष्ट निलम्बित

भदौ ९ गते गृहमन्त्रालयको निर्देशनमा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट निलम्बनमा परे । कञ्चनपरमा अर्का एसपी पठाइयो ।

भदौ २६ः दिलिपसिंह विष्ट रिहा

प्रहरीले सार्वजनिक गरेका विष्ट दोषी नभएको भन्दै जनमास उर्लिएपछि विष्टको डिएनए परीक्षण र उनको मानसिक अवस्था पत्ता लगाउन उनलाई काठमाडौ ल्याइएको थियो । तर उनको डिएनए नमिलेपछि भदौ २६ गते रिहा गरियो । र सोही दिन अनुसन्धानका लागि हिरासतमा राखिएका वम दिदिबहिनी पनि हिरासत मुक्त भए ।

त्यसपछि प्रहरीको अनुसन्धान प्रक्रियामाथि झन् धेरै शंका उब्जियो । यसबीचमा प्रहरीले तत्कालिन एसपी विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टसँग सोधपुध भयो । उनीहरुको पनि डिएनए परीक्षण भयो । तर, उनीहरुको डिएनए मिलेन । यसपछि घटना झन् रहस्यमयी भयो ।

भदौ ३०ः पाँच प्रहरी निलम्बित

गृहमन्त्रालयले पठाएको छानबिन समितिको प्रारम्भिक प्रतिबेदनले अनुसन्धानको क्रममा प्रहरीले नै लापरबाही गरेको प्रतिवेदन बुझायो । प्रतिवेदनका आधारमा पाँच प्रहरीः ज्ञानबहादुर सेठी, अंगुर जिसी, जगदिश भट्ट, एकेन्द्र खड्का र रामसिंह धामी निलम्बित भए ।

असोज ९ः छानबिन समितिले अन्तिम प्रतिवेदन बुझायो

छानविन समितिले असोज ९ गते गृहमन्त्रीलाई अन्तिम प्रतिवेदन बुझायो । उक्त प्रतिवेदन असोज २१ गते सार्वजनिक भयो । प्रतिवेदनमा अनुसन्धानका क्रममा प्रहरीले नै लापरबाही गरेको उल्लेख छ ।

कात्तिक ८ः एसपी विष्ट बर्खास्त

अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालिन एसपी डिल्लीराज विष्ट र ईन्स्पेक्टर जगदिश भट्ट सेवाबाट बर्खास्त भए । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्री रामबहादुर थापाले दुबैजनालाई बर्खास्त गरेका हुन् ।

अहिले प्रहरीले थप चार जनाको डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । सरकारले जसरी पनि हत्यारा पत्ता लगाएरै छाड्ने बताइरहेको छ । सरकार र प्रहरीको गरी योबीचमा सात वटा टोलीले घटनाको अनुसन्धान गर्यो । तर पनि घटना भएको सय दिनसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । सडक आन्दोलन रोकिएको छैन । निर्मलाका बा, आमा न्यायको भिख मागिरहेका छन् ।

कारबाहीको माग

अब त निर्मलाकी आमालाई न्याय पाउने आश पनि मर्न लागिसक्यो । लाउँलाउँ, खाउँखाउँ उमेरकी कलिली छोरीको बलात्कारपछि हत्या भएको दिनदेखि निर्मलाकी आमा दुर्गादेवीको आँखामा आशु ओभाएको छैन । कति रुनु ? कहाँ कहाँ गएर रुनु ? कोको सँग रुनु ? रुँदा रुँदा थाकिसकिन्, दुर्गादेवी । छोरीको हत्या भएको सय दिन वितिसक्यो, हत्यारालाई कारबाही हुनु त कता हो कता ? अझैसम्म हत्यारा पत्ता लाग्ने छाँट छैन ।

निर्मलाका बा र आमाको पीडामा स्थानीयसँगै अधिकारकर्मीले साथ दिए । उनीहरुले गाउँबाट न्याय मागे पाएनन् । सदरमुकाम गए, पाएनन् । राजधानी आएर बिलौना गरे । अहँ, कसैले सुनेन । फेरि गाउँ नै फर्किए । र, पनि न्यायका याचना गरिनै रहेका छन् ।
सरकारले निर्मलाको हत्यार पत्ता लगाउन फरक फरक सात वटा समिति बनायो । कुनै समितिले पनि हत्यारा पत्ता लगाउन सकेन । अब निर्मलाका बुबालाई सरकारले अनुसन्धान समिति बनाएको पनि नाटक जस्तो लाग्न थालेको छ ।

अनुसन्धान समितिहरु बन्यो । जिल्लाका तत्कालिन एसपी र ईन्सपेक्टर बर्खास्त भए । धेरै प्रहरी निलम्बनमा परे । थुप्रैको डिएनए परीक्षण भयो । तर पनि हत्यारा पत्ता लाग्ने छाँट छैन । अब उनीहरुमा थोरै मात्रै आश बाँकी छ, हत्याराको पहिचान भएर कारबाही हुनेमा ।

निर्मलाको नियतिले धेरैको मन पोलेको छ । हत्याराको पहिचान र कारबाहीको माग गर्दै देशैभर आवाज उठेको छ । निर्मला हत्याको सय दिनसम्म हत्यारा पत्ता नलागेकोप्रति आक्रोश व्यक्त गर्दै शुक्रबार देशका विभिन्न ठाउँमा प्रदर्शन भयो । प्रदर्शनमा पूर्वप्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका कार्यकतासँगै सर्वसाधारणको उपस्थिति थियो । उनीहरुले पनि हत्यारा पत्ता लगाएर कारबाही गर्न सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् ।

देशैभर ‘निर्मलाले न्याय पाउनु पर्छ’ र ‘हत्याराको पहिचान गरी कारबाही गर्नु पर्छ’ भन्ने आवाज उठिरहेको छ । निर्मलाका आफन्त, छिमेकी र गाउँलेले पनि यथाशिघ्र अपराधी पत्ता लगाएर कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

अहिले पनि सरकारले जसरी पनि निर्मलाको हत्यारा पत्ता लगाएर कारबाही गरिछाड्ने प्रतिवद्धता व्यक्त गरिरहेको छ । तर, घटना भएको सय दिनसम्म हत्यारा पत्ता लाग्ने संकेतसम्म नदेखिनुले नागरिकलाई निराशसँग आक्रोशित बनाएको छ । सबैको चाहना छ, निर्मलाको बलात्कार पछि हत्या गर्नेको छिटो पहिचान होस्, कारबाही होस् । र, अब कसैले पनि निर्मलाको नियति भोग्न नपरोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार