काठमाडौँ : पाँच दिन लामो उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएलगत्तै ऊर्जामन्त्री बर्षमान पुन अस्पताल भर्ना भएका छन् ।
शुक्रबार राति छातीमा अचानक समस्या आएपछि मन्त्री पुनलाई उनका सहयोगीहरुले मन्त्री निवास पुल्चोकबाट थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गराएका छन् ।
नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् । मन्त्री पुनका प्रेस सल्लाहकार रोशन खड्काका अनुसार अहिले स्वास्थ्य जाँच भइरहेको छ ।
२०७२ सालमा जन्डिस बिग्रिएपछि पुनले लामो समय थाइल्यान्डमा बसेर उपचार गराएका थिए । उनी २०७३ फागुनमा पनि गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका थिए । पुनको स्वास्थ्यमा पटक पटक समस्या देखिँदै आएको छ । annapurnapost बाट







