बर्दिया, १७ कार्तिक । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. १० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोग पीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटक पटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताइन् । पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । गुरुवाले झारफुक गरेर निको भइहाल्छ की भनेर शुरुवातमा भएको यौन दुव्र्यवहारपछि बलात्कार पनि सहेर बसेको पीडित महिलाको भनाइ छ । उनले भनिन्, “रोग निको भइहाल्छ की भनेर गुरुवनुराले आफूमाथि गरेको बलात्कारको घटना बाहिर कसैलाई भनेको थिइन । तर मनमा अति पीडा भएपछि कानूनी न्यायको लागि प्रहरीमा गएको हुँ ।”

पीडितले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा आफूलाई बलात्कार गर्ने सुब्बा थारुविरुद्ध बलात्कार गरेको आरोपमा जाहेरी दिएकी छिन् । पीडितले जाहेरी दिएको स्वीकार गर्दै थप अनुसन्धान गरी जाहेरी दर्ता गरी कानूनी कारवाही अगाडि बढाउने इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले बताए । निरीक्षक गौतमका अनुसार घटनाका आरोपित सुब्बा थारुलाई कात्तिक १६ गते नै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको छ । रोग ठीक हुनुभन्दा दिनानुदिन बढ्दै गएर थला पार्न थालेपछि भने चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा डाक्टरले क्यान्सर भएको भनेपछि सोही अनुसार उपचार गराइरहेकी छिन् । पीडित महिलाको श्रीमान् वैदेशिक रोजगारमा गएका छन् भने दुई छोरा पनि घर बाहिर कमाउन जाने गरेका छन् ।

त्यस्तै झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका वडा नं. ६ का ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ । पीडित युवतीका बुबाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई पक्राउ गरिएको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए । उनी पाँच महीनाकी गर्भवती भएको बताइएको छ । युवतीको स्वास्थ्य परीक्षणका लागि आजै मेची अञ्चल अस्पताल पठाइने प्रहरी प्रमुख पौडेलले बताए । अभियुक्तलाई सोही कार्यालयमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । झापामा चालु आर्थिक वर्षको चार महीनामा मात्र आधा दर्जन बलात्कारका घटना भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार