बुटवल, १७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अब सरकारको कामको गति तीव्र हुने बताउनु भएको छ । सरकार गठनपछिको केही समय अप्ठेरो रहेको भन्दै अब सजिलो परिस्थिति आएकाले सरकारले ‘फूल फ्लेज्ड’मा काम गर्ने उहाँको दावी थियो ।

शनिबार बुटवलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन धेरै ध्यान दिनुपरेकाले कामको गति थोरै सुस्त भएको तर्क गर्नु भयो ।

उहाँले अब सरकारले जनअपेक्षा अनुरुप काम गर्ने भन्दै सबैलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले पार्टी एकीकरणको प्रक्रिया टुंग्याउन केही ढिलाई भएको स्वीकार्दै विवादका कारण ढिलाइ भयो भनेर दुष्प्रचार भइरहेको गुनासो गर्नुभयो । नेपाल अब ‘ल्यान्ड लक्ड कन्ट्री नरहेको तर्क गर्दै उहाँले चीनसँगको पारवहन सम्झौंतापछि नेपाल ‘ल्याण्ड लिंक्ड कन्ट्री’ बनेको दावी पनि गर्नुभयो ।

अध्यक्ष दाहालले अबको युग विकासको युग भएको समेत बताउदै सरकारले काम गर्न सकेन भनेर र विभिन्न विवाद देखाएर प्रतिक्रियावादीहरुले तिललाई पहाड बनाएको आरोप लगाउनुभयो ।

दशैं, तिहार, नेपाल सम्वत ११३९, छठ, ल्होसारलगायतको अवसरमा नेकपाले बुटबल मण्डपमा आयोजना गरेको प्रदेश नम्बर ५ स्तरीय चियापान कार्यक्रममा अध्यक्ष दाहालसहित महासचिव विष्णु पौडेल, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, नेता टोपबहादुर रायमाझी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार