काठमाडौं– नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन अर्थात बुधबार विद्युतको उच्च माग १२ सय ७० मेगावाट पुग्ने अनुमान गरेको छ । काठमाडौं उपत्यकासहित देशभर साँझको समयमा दीपावली गर्न झिलिमिली बत्ती बालिने हुँदा विद्युतको माग बढ्नेछ । यो उद्योगबाहेक ग्राहस्थ उपभोक्ताले खपत गर्ने विद्युत परिमाण हो । प्राविधिक समस्या आएका स्थानमा बाहेक देशभर विद्युत कटौती नगरी आपूर्ति नियमित गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार साँझ ६ देखि राती ९

बजेसम्मको उच्च माग १३ सय ५० मेगावाट पुगे पनि आपूर्ति व्यवस्थापन सहज हुनेछ ।  ‘वर्षको सबैभन्दा बढी विद्युत माग लक्ष्मी पूजाको दिनमा हुन्छ,’ उनले भने, ‘विगत २ वर्षदेखि तिहारको माग अनुसारको विद्युत आपूर्ति हुँदै आएकाले यो वर्ष पनि समस्या हुनेछैन ।’ निजी क्षेत्रको ५ सय १२ मेगावाट, प्राधिकरणको ५ सय ८ मेगावाट तथा भारतबाट आयातित विद्युतले माग व्यवस्थापन गरिने उनले बताए । उच्च माग हुने साँझकाे समयमा आवश्यकता अनुसार कुलेखानी जलाशय सञ्चालन गर्ने प्राधिकरणकाे तयारी छ । उपभोक्तामा सचेतनाको स्तर बढेकाले आपूर्ति व्यवस्थापन सहज हुँदै गएको प्राधिकरणको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार