काठमाडौं : मलेसियासँग द्विपक्षीय श्रम सम्झौता भएलगत्तै सरकारले कतारसँगको श्रम सम्झौता नवीकरणको तयारी थालेको छ। यसअघि भएको श्रम सम्झौता कामदारमैत्री नभएपछि नवीकरण गर्न लागिएको हो।

कतारसँग सन् २००५ मा श्रम सम्झौता भएको थियो। तर, सम्झौताले कामदारको सुरक्षाका विषय समेट्न नसकेकाले सरकारले कतारसँग छिट्टै श्रम सम्झौता गर्ने भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले मलेसियाजस्तै कतारमा पनि श्रम सम्झौता नवीकरण गर्ने जानकारी दिए। ‘शून्य लागतमा कामदार पठाउने गरी सम्झौता गर्ने तयारीमा छौं’, उनले भने। कतारसँगको श्रम सम्झौतको तयारीस्वरुप दुई देशबीच छलफल भइरहेको छ।

सन् २००५ मा भएको सम्झौतालाई समसामयिक बनाउन कतारसमेत इच्छुक छ। कुन–कुन क्षेत्रमा परिवर्तन गर्ने भन्नेबारे संयुक्त प्राविधिक टोलीले गृहकार्य गर्नेछ। टोलीले हरेक वर्ष बैठक बसेर श्रमसम्बन्धी समस्या समाधान गर्दै आएको भए पनि यस वर्ष भने बैठक बसेको छैन। प्रवक्ता रेग्मीका अनुसार डिसेम्बरमा हुने बैठकमा नयाँ ढंगबाट श्रम सम्झौता गर्न बृहत छलफल हुनेछ।

प्राविधिक टोलीको संयुक्त छलफलपश्चात मात्रै श्रम सम्झौता नवीकरण हुने मन्त्रालयले जनाएको छ। कतारसँग सम्झौता गर्दा शून्य लागतमा कामदार पठाउने प्रावधान गरिनुका साथै सामाजिक सुरक्षामा विशेष जोड दिइने प्रवक्ता रेग्मीले जानकारी दिए। वैदेशिक रोजगार विभागका अनुसार कतारमा १० लाखभन्दा बढी कामदार छन्। तर, कति कामदार फर्र्किए भन्ने विभागसँग तथ्यांक छैन। सरकारले २०७२ सालदेखि नै फ्री भिसा टिकटको व्यवस्था लागू गरेको थियो। तर, व्यवहारिकरुपमा लागू हुन सकेको छैन।

कतारमा ‘रोजगारी भिलेज’ को अवधारणामार्फत श्रमिक पठाउने सरकारी योजना छ। उक्त व्यवस्थामार्फत एकद्वार प्रणालीबाट रोजगारदाताले प्रत्यक्ष माग लिएर आउन सक्छन् र कामदार छनोट गर्न सक्छन्। यस विषयमा पनि छलफल भइरहेको तर निर्णयमा पुग्न नसकिएको मन्त्रालय उच्च स्रोतले जानकारी दियो।

कतारी टोली नेपालमा

नेपालमा भिसा सेन्टर राख्ने बारेमा गृहकार्य गर्न कतारी टोली नेपाल आएको छ। सहसचिवस्तरको कतारी टोलीले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग छलफल गरेको छ।

टोलीले मन्त्री विष्टसँग सामान्य छलफल गरेको श्रम मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए। चारजनाको टोलीले भिसा सेन्टरबारेमा प्राविधिक टोलीसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। annapurnapost.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार