केैलालीबाट आयो देशै हल्लाउने यी दुई खबर, २२ जना समेत पक्राउ परे !
धनगढी, कात्तिक २१ । जिल्ला प्रहरी कार्यालय कैलालीले जुवातास खेलिरहेका २० जना जुवाडेहरुलाई २ लाख ७४ हजार ८ सय ४५ रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई छुटाउन प्रदेशका मन्त्रीका पिएदेखि स्थानीय राजनैतिक दलका प्रमुखहरुले समेत दवाव दिएको प्रहरी स्रोतले बतायो ।
मंगलबार राति करिब साढे ११ बजेको समयमा धनगढी उपमहानगरपालिका ३ बाट ९ जना जुवाडे १ लाख २९ हजार १ सय ३५ रुपैयाँ र वडा नम्बर १ बाट ११ जना जुवाडे १ लाख ४५ हजार ७ सय १० रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
चाडबाडबाडको बेला हुने जुवातासमा प्रहरीको समेत सेटिङ हुने आरोप आइरहेको बेला प्रहरीले २० जना जुवाडेहरु पक्राउ गरेको हो । गएराति अबेरसम्म प्रहरीलाई जुवाडे छोड्न सुदूरपश्चिम प्रदेशका मन्त्रीका पिए, सांसद र विभिन्न राजनैतिक दलका प्रमुखहरुले दबाव दिएको एक प्रहरी अधिकारीले बताए ।
यसबारे जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख वलीसँग सम्पर्क राख्दा उनले दवाव आएपनि कसले दवाव दिएको भन्नेबारे बताउन चाहेनन् । उनले भने, ‘काम गर्दै जाँदा यस्ता दबावहरु आउने नै भए, तर दबाव दिएकै भरमा जुवाडेहरुलाई छाडिदैन ।’
पछिल्लो पटक कैलाली प्रहरीले राजनैतिक दबाव नमानेको भन्दै विभिन्न राजनैतिक दलका नेताहरुले प्रहरी प्रमुख परिवर्तन गर्न गृह मन्त्रालयसम्म धाएको चर्चा कैलालीमा चलेको छ । पक्राउ परेकाहरुलाई अदालत खुल्नेवित्तिकै जुवा कसुर अन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
ब्राउनसुगरसहित दुईजना पक्राउ
लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले मंगलबार साँझ धनगढी उपमहानगरपालिका ३ बाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कञ्चनपुरको पुनर्वास नगरपालिका-११ बस्ने बिसन लामा र धनगढी उपमहानगरपालिका-३ का इन्द्रबहादुर गुरुङ्गलाई ५ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीले जानकारी दिए ।
शंकापद अवस्थामा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा गतिविधिमाथि शंका लागेपछि चेकजाँच गर्दा ब्राउनसुगरसहित उनीहरुलाई नियन्त्रण्मा लिएको डीएसपी वलीले जानकारी दिए । पक्राउ परेकाहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।







