बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ  गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ ।

नागरिक संघर्ष समितिले आइतबार र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेको हो । निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा (रातदिन) नै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले बताएको छ ।

यसअघि निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनीसमेत दिइसकेका छन् ।

धर्ना दिने र धर्नापछि पनि हत्यारा पत्ता लगाएर सार्वजनिक नगरे परिवार नै अामरण अनसनमा बस्ने  पन्तले  बताएका छन् ।

निर्मलाका पिता यज्ञराज पन्तले आइतबारदेखि अाफुहरू नयाँ चरणकाे अान्दाेलनममा उत्रिन बाध्य भएकाे बताएका छन् । भने,‘‘न्याय नदिइएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो । धर्ना कार्यक्रमको पनि सुनुवाई भएन भने अनशन बस्ने सोच बनाएका छौं ।’’

उनका अनुसार आइतबारबाट सुरु हुने आन्दोलन कार्यक्रम हत्यारा पत्ता नलागुन्जेलसम्मका लागि अनिश्चितकालीन हुनेछ । आजको कार्यक्रमअनुसार बिहान महेन्द्रनगरको मदनचोकमा स्थानीय बासिन्दा, अधिकारकर्मी तथा  परिवारका सदस्य भेला भएर नगरपरिक्रमा गरी ११ बजे जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना बस्ने कार्यक्रम रहेको छ ।

निर्मलाका पिता यज्ञराजले तिहार अघि पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुलाई न्याय प्राप्त नभए धर्ना र अनशन जस्ता कार्यक्रममा सरिक हुने जनाएका थिए । आजको धर्नाको तयरीका बारेमा छलफल गर्न महेन्द्रनगरको खुलामञ्चमा स्थानीय महिला अधिकारकर्मी तथा परिवारका सदस्यहरुको भेला भएको थियो ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले पनि यति लामो समय भइसक्दापनि सरकारले न्याय दिने दिशामा केही पनि गर्न नसकेकोले बाध्य भएर धर्नामा उत्रनुपरेको जनाइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार