
सत्ताधारी नेकपाका नेता वामदेव गौतमले मिडियाले आफूले बोल्दै नबोलेको कुरा सञ्चारमाध्यममा आएको भन्दै आपत्ति जनाएका छन् ।
गौतमले सांसद नपाएपछि राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन प्रधानमन्त्री केपी ओली शर्मा ओलीसँग प्रस्ताव गरेको दाबी सहित एक पत्रिकाले खबर छापेको थियो । तर, सो प्रस्तावलाई ओलीले अस्वीकार गरेको समाचारमा उल्लेख गरिएको थियो ।
गौतमले बोल्दै नबोलेको कुरालाई अन्तर्वार्ता नै दिएको जसरी छाप्ने काम भएको भन्दै आफ्नो चरित्रमाथि खेलबाड गरिएको एक विज्ञप्तिमार्फत जनाएका छन् ।
‘नेपाल सरकारले कस्ता नीति अवलम्बन गर्छ, कस्ता नीति अवलम्बन गर्दैन उसको अधिकारको कुरा हो ।’ गाैतमले भनेका छन्, ‘विकास निर्माणसम्बन्धी ऐनद्वारा निर्देशित प्राधिकरण निर्माण गर्ने विगतमा प्रधानमन्त्रीसँग कुरा भए पनि आज मेरो माग होइन । सरकार र पार्टीका नेताहरुसँग यस सम्बन्धमा मेरो कुनै गुनासो पनि छैन ।’







