केपी अाेलीले डा.अन्जान शाक्यलार्इ इजरायलका लागि राजदूतमा नियुक्त गरेका छन् । शाक्यलार्इ राजदूतमा नियुक्त गरेपछि अाेलीकाे चाैतर्फी अालाेचना हुन थालेकाे छ ।
कांग्रेस र तत्कालीन माओवादीको गठबन्धन सरकारका बेला राप्रपाको कोटामा राजदूत बनेका थापालाई फिर्ता बोलाउनु स्वभाविक भएको सत्तारुढ नेकपाका नेताहरु बताउँछन् । तर, रिक्त पदमा शाक्यको सिफारिसमा भने ‘राजदूत नै बनाएको हो र’ भन्ने प्रतिक्रिया दिएका छन् ।

को हुन् शाक्य ?
यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो साधै आफू भन्दा
बोलको चर्चित गीतकी गायिका हुन् शाक्य । साथै प्रदेश ३ मा काठमाडौं क्षेत्र नम्बर ९ बाट (तत्कालीन एमालेबाट निर्वाचित) नेकपाका सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन् । तर, त्यही कारण उनी इजरायलका लागि राजदूत सिफारिस भएकी भने होइनन् ।
नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् । तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन् ।
ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन् ।
नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो ।
शाक्य नेकपाको संगठनमा भने क्रियाशील छैनन् ।
व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यले पद्मकन्या कलेजमा करीब एक दशक प्राध्यापन गरेकी थिइन् । साथै अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायत पदमा रहेर काम गरेको अनुभव छ ।







