
पार्टी एकीकरणपछि नेकपाले झन्डै दुईतिहाइ बहुमत ल्यायो तर सरकारको उपलब्धि भनेचित्तबुझ्दो छैन । कहाँ अड्कियो ?
कार्यशैलीमा देखिएको त्रुटि र सरकार सञ्चालनको तरिकाका कारण उपलब्धि अपेक्षाअनुसार हासिल हुन सकेन।
प्रधानमन्त्रीले अरिगांल बन्नुहोस् भनेर निर्देशन दिनुभयो तर तपाईँहरू बन्न सकिरहनुभएको छैन नि, किन?
त्यो पार्टी तिखो होस् भन्ने कुरामा भनिएको थियो, सरकारको प्रसङ्गमा भनिएको होइन।
स्थायी कमिटी बैठक बोलाउँदै सार्र्दै गइरहनु भएको छ, किन यस्तो गरिएको होला ?
पार्टी सञ्चालनका सवालमा पार्टी अध्यक्ष र उहाँहरूको कोर टिम नै अलमलमा परेको देखिन्छ।
कुन कोर टिम अलमलमा, सचिवालय ?
पार्टीसचिवालयभित्र पनि कोर टिम छ नि नेकपामा । सचिवालयका पनि सबैलाई सबै विषय थाहा हुन्न किनकि निर्णय गर्ने ठाउँमा उहाँहरू हुनुहुन्छ तर विडम्बना, निर्णय भइसकेपछि मात्र थाहा पाउनुहुन्छ।
को–को छन् त त्यो कोर टिममा ?
कोर टिम भनेर पार्टी अध्यक्षहरूले ‘लाइक माइन्डेड’ हरूलाई राख्नुभएको देखिन्छ । कोही सचिवालय सदस्य छन्, कोही सचिवालय सदस्य पनि नभएर स्थायी समितितिर रहेका होलान्, कोही केन्द्रीय समितितिर पनि होलान । कतै पनि नभएर अध्यक्षको विश्वास पात्रका रूपमा टिममा रहेका पनि होलान्।
कोर टिम अलमलमा परेकाले पार्टी एकीकरण जुन गतिमा हुनुपर्थ्यो, त्यो भएन भन्न खोज्नुभएको हो ?
कतिपय समस्या हुँदा पनि कसैमा गुनासो रहेन किनभने एउटै कम्युनिस्ट पार्टी बन्दै थियो भन्ने भावना जोडिएको थियो । तर एकता प्रक्रिया अघि बढ्दै जाँदा भावना प्रधान भएन, दाउपेच बढी भए।
भन्नाले ?
पार्टी एकीकरणको सवालमा केही नेताको नियत ठीक देखिएको छैन् । यो एकता प्रक्रियालाई पार्टीभित्रको अमुक समूहका लागि एक किसिमले दमन गर्ने माध्यमका रूपमा प्रयोग गर्न खोजिँदैछ, त्यसकारण पार्टी एकीकरण अलमलमा परेको छ।
मतलव एकीकरणका लागि अब भावनात्मकताबाँकी रहेन…
कमजोर बनाइयो । सम्पूर्ण ढंगले सकिइसक्यो त भन्दिन्।
केही अमुक नेतालाई दमन गर्न खोज्दा समस्या देखियो, हैन त ?
भावना कमजोर बनाइयो । हामीले पटक–पटक भन्यौँ कि एकीकरणका लागि मापदण्ड बनाऔँ । अध्यक्षहरूले नै भन्नुभएको छ कि हामी जेट विमान चलाउँदैछौँ तर जेट विमान त एउटा प्रणालीबाट चलाउनुपर्छ, व्यक्तिको लहडबाट त चल्दैन्।
तर सुनुवाइ भएन ?
भित्रै बोल्ने वातावरण बन्यो भने बाहिर गएर किन र कसले बोल्छ ? नेकपामा त आजकल बैठक नै छैन, सोधपुछ नै छैन्, भेट्न पाइएको छैन, छलफल गर्न पाइएको छैन् अनि कसरी पार्टी अघि बढ्छ ?
भनेपछि पार्टीलाई जीवन्त बनाउन छलफल गर्ने कुनै पनि मञ्चछैनन् अब नेकपामा ?
सचिवालय, स्थायी समिति, केन्द्रीय समिति छन् तर छलफल भने गर्न पाइएको छैन्।
त्यसैले हो तएकीकरणको एक वर्ष नपुग्दै नेकपाभित्र केपी–प्रचण्ड गुट र माधव गुट भनेर संस्थागत हुँदैजान थालेको ?
नेकपामा अहिले दुई जना अध्यक्ष हुनुहुन्छ– केपी ओली र प्रचण्डजी । तरमाधव नेपाल पनि पार्टीको एउटा इतिहास बोकेको व्यक्तित्व हुनुहुन्छ ।उहाँलाई नजरअन्दाज गरेर पार्टी चल्दैन । कसैले त्यस्तो सोचेको छ भने यो उसैका लागि घाटा हुन्छ।
तर माधव नेपालले नै ‘नोट अफ डिसेन्ट’ लेख्नुपर्ने अवस्था आयो नि ?
माधव नेपालले राख्नुभयो, उहाँसँग अहिले बहुमत छैन, यसलाई यत्तिकै किनारा लगाइदिउँभनेर अध्यक्षद्वयले सोच्नुभयो भने उनीहरूको परिपक्वता र गाम्भीर्यता देखिँदैन । तर माधव नेपालले राखेका प्रश्न सही छन् कि छैनन् भन्ने पार्टी बैठकले ठहर्याउनुपर्छ।
सचिवालयमा अध्यक्षहरूकै गुट छ भन्नुभयो, माधव नेपाल त्यो गुटभन्दा बाहिर हुनुहुन्छ भन्न मिल्छ ?
पार्टी सञ्चालनको अग्रभागमा नरहे पनि वाकुनै पदमा नरहे तापनि माधव नेपाल एउटा संस्थाका रूपमा पार्टीभित्र भने रहिरहनुहुन्छ ।
पार्टी एकीकरण पूरा नहुँदै माधव नेपालसहित झलनाथ खनाल र ईश्वर पोखरेलले पनि असन्तुष्टि बाहिर ल्याउन थाल्नुभएको छ, के अध्यक्षहरू मनोमानी ढंगले अघि बढेकै कारण यस्तो अवस्था आएको हो त ?
पार्टीका निर्णय पारदर्शी भएनन्, निर्णय प्रक्रियामा सहभागिता भएन । जब निर्णय पारदर्शी र सहभागिता हुँदैन, त्यसपछि असन्तुष्टि त अवश्य प्रकट हुन्छ।
पूर्वमाओवादी सहजै आन्तरिक प्रतिस्पर्धामा जान स्वीकार गर्ला त ?
संक्रमणकाल र अन्तरिम अवस्था सकिएपछि आन्तरिक प्रतिस्पर्धामा जानैपर्छ । तर यसो भनेर पूर्वएमालेहरू संगठनमा बढी पकड र अभ्यस्त छन्, उनीहरूलाई आउन दिनैहुन्न भनेर लाग्न सक्लान् तर त्यसलाई रोक्न भने मापदण्ड बनाउनुपर्छ।
पूर्वएमाले र पूर्वमाओवादी भन्ने ह्याङ कति समयसम्म नेकपामा रहला त ?
ब्यानरमा त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भइसक्यो । पार्टी एकीकरणको सवालमा यो मेटिन भने अझै केही वर्ष लाग्छ किनभने जिल्लाको नेतृत्व बाँडफाँट गर्दा यो जिल्ला पुरानो एमालेले नेतृत्वले गर्ने र अर्को जिल्ला पुरानो माओवादीले गर्ने भनेर समझदारी गरेका छौँ । प्रदेशको हकमा पनि त्यही हो, केन्द्रीय समिति पनि त्यसरी नै गठन भएको हो।
पार्टी एकता प्रक्रिया पूरा नहुँदै एक्कासि बामदेव प्रकरण आयो, त्यो आउनुको कारण के थियो ?
जे भए पनि बाक्सामा मत आएन, त्यसलाई स्वाभाविक ढंगले स्वीकार गर्नुपथ्र्याे । पार्टीभित्र त्यसमा गम्भीर समीक्षा हुनुपर्छ।
बाक्सामा मत नपाउने नेतालाई फेरि चुनाव लडाउने किन त ?
बामदेवजीले सार्वजनिक रूपमै भन्नुभएको छ कि दुवैजना अध्यक्षले प्रतिनिधिसभामा आउनुहोस् भनेकाले म आउन खोजेको हुँ भनेर।
मतलब बामदेवको यहाँ कुनै कमजोरी छैन ?
बामदेवलाई प्रतिनिधिसभामा ल्याउन खोज्ने अध्यक्षहरूको चाहना हो भने त्यो गलत हो । पाँच वर्ष यो काम गर्नै मिल्दैन्।बामदेवले आउन खोज्नुभएको हो भने त्यो पनि त्यो गलत हो।
केमेस्ट्री मिल्ने भएको र पार्टीभित्र आफ्नो गुट बलियो बनाउन प्रचण्डले कार्ड खेल्नुभएको कुरा पनि आएका छन् नि ?
यदि नेताहरूको जिम्मेवारीको विषय हल गर्न खोजिएको हो भने बामदेवलाई पार्टीको जिम्मेवारी दिए भइहाल्यो नि,किन प्रतिनिधिसभामै ल्याउनुपर्यो ?
नागरिक दैनिकसँगकाे कुराकानीकाे सम्पादित अंश ।







