नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालकाे बाँकी  क्रान्ति सम्पन्न गर्न जनताकाे अाफ्नै जनमुक्ति सेना रहेकाे बताएका छन् ।

प्रचण्डहरूसँग विद्राेह गर्दै यहाँसम्म अाउँदा अाफुहरूले नेपालमा बाँकी नेपाली क्रान्तिलार्इ पूरा गर्न जनतासँग जनमुक्ति सेना भएकाे महासचिव विप्लवकाे दाबी छ । त्याे जनमुक्ति सेनाकाे संख्या अाफुहरूले नबताउने बताएका छन् ।

एक अंग्रेजी अनलाइनलार्इ दिएकाे अन्तर्वार्तामा महासचिव विप्लवले यस्ताे बताएका हुन् । उनीसँग गरिएकाे कुराकानीकाे छाेटाे अंश :

»» तपाईंको पार्टीले जनयुद्धको ‘लिगेसी’ लिन्छु र म नै हुँ असली माओवादी भनेर दाबी त गरेको छ तर पत्याउने आधार के छन् ? विचार मात्र राखेर नपुग्ला । लडाइँ गर्नु परे सेना पनि चाहिएला । छ त तपाईंको पार्टीसित सेना ? छ भने लड्न सक्ने जति छ त ?

ठिकै भन्नुभयो । जनयुद्ध मात्र होइन, नेपाली क्रान्तिहरूको उत्तराधिकारी हामी र हाम्रो पार्टी हो । त्यो मुख्यतः सैद्धान्तिक विचारकै कारणले हो । जहाँसम्म सेनाको कुरा उठाउनुभयो, सेना दुईवटा शक्तिसँग मात्र हुन्छ : एउटा सत्ता सञ्चालन गर्ने वर्गसँग, अर्को प्रतिक्रियावादी सत्तालाई मिल्काउन चाहने क्रान्तिकारी वर्ग र शक्तिसँग । जनमुक्ति सेनाका बारेमा अब सायद सत्य कुरा भन्ने वेला भयोजस्तो लाग्छ । प्रचण्ड—बाबुरामहरूले महान् जनमुक्ति सेना विसर्जन गर्दा नै हामीले प्रतिरोध गरेका थियौँ र क्रान्तिलाई साथ दिन चाहने जनमुक्ति सेनाका कमान्डरहरूको भेला गरेका थियौँ । त्यसमा कम्पनी सहकमान्डरभन्दा माथिका मात्र ४०० भन्दा बढी भेला भएका थिए । पछि हामीले सदस्यहरूको पनि देशैभरि भेला ग¥यौँ । जब किरणसँग हामीले विद्रोह ग¥यौँ त्यसको एउटा कारण यही थियो । पछि हामीले जनमुक्ति सेनाको गौरवपूर्ण इतिहास रक्षा गर्दै जनमुुुक्ति सेनालाई पुनर्गठन ग¥यौँ । आज जनता खाली छैनन् । जनतासँग क्रान्तिलाई अगाडि बढाउने महान जनमुक्ति सेना छ । यसको सङ्ख्या तपाईले भनेजस्तो केकति भन्नेतिर नजाऔँ । क्रान्ति सञ्चालन गर्नसक्ने र विजय हासिल गर्दै जानसक्ने स्तरमा छ ।

»» तपाईंको पार्टीको बाटो के हो ? सशस्त्र हो कि शान्तिपूर्ण ? जनता भन्छन्– देख्दा शान्तिपूर्णजस्तो देखिन्छ फेरि होइनजस्तो पनि देखिन्छ । कार्यकर्तालाई मुद्दा लागेको छ । तिनै कार्यकर्तालाई शान्तिपूर्ण आन्दोलनमा पनि पठाउनुहुन्छ ।

यस्ता प्रश्न तपाईं किन सोधिरहनुभएको छ ? अघि पनि भूमिगतको चर्चामै मैले धेरै भनिसकेँ । पहिले पनि धेरै ठाउँमा यसबारे व्याख्या भइसकेको छ । क्रान्ति यति अगाडि बढिरहँदा पनि तपाईंले आदिमकालको जस्तो प्रश्न सोध्नुभयो ! क्रान्ति भनेको के हो ? काङ्ग्रेसले राणाविरुद्ध गरेको क्रान्ति, एमालेले पञ्चायतविरुद्ध गर्न खोजेको तर नसकेको क्रान्ति, प्रचण्डहरूले १० वर्ष चलाएको र पछि बेचेर खान खोजेको क्रान्ति (जनयुद्ध), भोगेर, पचाएर, बुझेर यहाँ पुग्दा पनि यस्तो प्रश्न सोध्ने ! यो त जनतालाई पनि ज्ञान भइसकेको विषय हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार