सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ।

राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो। सरकारले त्यतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो।
सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै त्यति रकमले नपुग्ने बताएको थियो। उसले १६ करोड मागेको थियो। सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको हो।
केही दिनअघि मात्रै रकम निकासा भएको अर्थ मन्त्रालय उच्च स्रोतले बतायो। गत वर्षकै मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले १४ करोड ३० लाख थप बजेट दिएको हो। गाडी खरिद शीर्षकमै १८ करोडभन्दा बढी रकम छुट्याइसके पनि कुन प्रकारको कस्तो गाडी ल्याउने भन्ने सेनाकै जिम्मामा छ। अन्नपूर्णमा खबर छ ।
विवाद हुन सक्ने विषय सेनामार्फत गराउने वा सेनालाई जिम्मा दिने सरकारको प्रचलन छ। राष्ट्रपति सेनाको परमाधिपति पनि रहेकाले सेनालाई जिम्मेवारी दिइएको बताइएको छ। सेनाले नै रक्षामार्फत अर्थमन्त्रालयमा यस्तो प्रस्ताव पठाएको हो।
अर्थ मन्त्रालय स्रोतले आठ गाडी किन्न १४ करोड ३० लाख बजेट निकासा भइसकेको जनायो।
सरकारका एक उच्च अधिकारीले राष्ट्रपतिको सुरक्षार्थ महँगो गाडी किन्नु ठूलो कुरा नभए पनि कम्युनिस्ट र सर्वहारा नेतृत्व भनिनेले नै विलासितामा जोड दिनु अस्वाभाविक देखिएको बताए। ‘राष्ट्रप्रमुखलाई गाडी, सुरक्षा सबै चाहिन्छ,’ ती अधिकारीले भने, ‘विलासी गाडी र सर्वसाधारण आतंकित नै पार्ने सुरक्षा गणतान्त्रिक मुलुकको राष्ट्रप्रमुखलाई सुहाउँदैन।’
सवारीको ठाँटबाँट र राजसी विरासतले यस्तो समस्या आएको उनले टिप्पणी गरे।







