प्रकाश ! हाम्रो प्रेमको चिनोले बुवा भन्दै तिम्रो तस्वीरलाई म्वाइँ खान्छ, अनि मलाई पटकपटक रुवाउँछ…!’

प्रकाश तिमी हिलोमा फुलेको कोमल थियौ । हिलोमा फुलेको सुन्दर कमलको फूललाई दुनियाँले टिपेर हातमा खेलाउने चाहना राख्छन् । टिप्न नसकेपछि ढुङ्गाले हानेर धुजाधुजा पार्न खोज्छन्, तिमी थियौ त्यस्तै ।

नेतृत्वलाई सिध्याउन गरिएका लाखौं प्रयासहरु तिमीमा केन्द्रित हुन्थे । आम मान्छेजस्तै तिमी पनि सामान्य मान्छे त थियौ । कसैको छोरा, कसैको भाइ, कसैको साथी, कसैको प्रेमी । तिमीमा पनि मानवीय गुणहरु थिए । मानवीय कमजोरीहरु पनि थिए । इच्छा, आकाङ्क्षा र रहरहरु पनि थिए नै ।

यी सारा सम्बन्धहरुलाई तिमीले जसरी व्यवस्थापन गर्नुपर्ने हो, त्यसरी व्यवस्थापन गर्ने कौशल पुगेन होला । तर, तिमी मेरा लागि भने प्रिय थियौ । मेरा लागि मात्र होइन, परिवार, समाज, देशका लागिसमेत प्रिय थियौ । किनकि, तिमीमा सबैभन्दा ठूलो सद्गुण थियो सरलता, जनसम्पर्कलाई जीवन्त राख्ने चुस्त व्यवस्थापन, कुनै न कुनै माध्यमबाट आम जनतामा पुग्नसक्ने अद्भुत क्षमता ।

…प्रकाश तिमिले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसकेछ । यो बीचमा छ वटा ऋतुहरु सकिए । सिङ्गो हिउँद र वर्षातहरु बिते । १२ महिनाले पालो फेर्‍यो । मैले भने अझै मनलाई कन्भिन्स गर्नै सकेकी छैन तिमी यो संसारमा छैनौ भनेर ।

अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुवा भन्न सक्छ ।
तिमीलाई थाहा छ, प्रकाश सिरानीको तस्वीर देखाउँदै ‘बावुको बुवा’ भन्छ । अनि, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ ।
तिम्रो प्यारो छोरा प्रणवले मलाई पटकपटक रुवाउँछ यसरी ।
…….
( बिना मगरले स्व.पति प्रकाश दाहालको स्मृतिमा प्रकाशित स्मारिकामा लेखेकी हुन्) nepal.himalayadainik.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार