प्रत्येक वर्ष असोज लाग्यो कि आँशु बग्न थाल्छन्। वाणगंगा नगरपालिका ६, बैदौलीकी पहिया थारूको मनमा छोरीको सम्झना गाढा हुन्छ। एकोहोरो बर्बराउँछिन्।

भक्कानो फुटेको सुन्ने र देख्ने कोही हुन्न। जाडो बढेपछि छोरीको सम्झना मधुरो हुँदै जान्छ। बल्लतल्ल टाढिन्छिन्। घाउ पुरिंदैन। अर्को साल असोज आउँछ, परिवारमा पीडा बल्झाएर जान्छ।

पहियाकी १४ वर्षीया छोरी शिवरानी गाउँ नजिकै आयोजित साँस्कृतिक कार्यक्रम हेर्न गएकी थिइन्। तर, रातिसम्म उनी फर्किनन्। परिवारले बिहानसम्म बाटो हेरे । दोस्रो दिन छोरीको शव फेला पर्‍यो। परिवारमाथि बज्रपात खस्यो। उनको ०६८ असोज १३ गते राति हत्या भएको खुल्यो। अर्को दिन बिहान वाणगंगा सिंचाइ आयोजनाको नहरमा शव फेला परेको थियो।

‘राति नआएपछि साथीकोमा बसी होला भन्ने लाग्यो,’ बाबु फुल्चन्दले भने, ‘बिहान शव देखेपछि छाँगाबाट खसेँ, हातखुट्टा लुला भए, सबै गुम्यो।’ शिवरानी स्थानीय महेन्द्र उमावि कोपवामा ७ कक्षामा पढ्थिन्।

प्रहरीले अनुसन्धान क्रममा बलात्कारपछि हत्या भएको ठहर्‍यायो। इलाका प्रहरी गोरुसिंगेका तत्कालीन निरीक्षक शिशु शर्माले बलात्कारपछि हत्या भएको परिवारलाई जानकारी गराएका थिए।

घटनालगत्तै शर्माको सरुवा भएपछि थप अनुसन्धान अलपत्र पर्‍यो। त्यसपछि घटना अनुसन्धानका लागि प्रहरीले विभिन्न समिति बनाए पनि प्रभावकारी बन्न सकेको छैन। कपिलवस्तुबाट मनोज पौडेलले लेखेको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘प्रत्यक्षरअप्रत्यक्ष दबाबका कारण घटनाको राम्रो अनुसन्धान हुन सकेन,’ एक स्थानीयले भने, ‘प्रहरीले निष्पक्ष भएर काम गरे तत्काल दोषी पक्राउ पर्छन्।’ बाबु फुल्चन्दका अनुसार नहरमा शव घोप्टो पारेर फालिएको थियो। घाँटीमा डोरीको स्पष्ट डाम थियो।

हत्याको प्रमाण हुँदाहुँदै पनि संलग्नलाई पक्राउ नगरेको परिवारको दुखेसो छ । गाउँमा अहिले पनि त्रासको माहोल छ। घटनाबारे खुलेआम कुरा गर्न पीडित डराउँछन्। घरभित्र बसेर मात्र कुरा गर्छन्।

कारबाही नै भएनः परिवार
शिवरानीको परिवार विपन्न छ। उनीहरू कसैविरुद्ध केही बोल्न सक्दैनन् । प्रशासनमा पहुँच छैन। २/३ पटक घटनाका विषयमा छलफल हुँदा गाउँका कोही संलग्न छैनन् भनेर टारियो। उनीहरूको पक्षमा कोही चुइक्कसम्म बोल्दैनन्। ‘हामी एक्लो हुन्छौं,’ शिवरानीका ८० वर्षीय हजुरबुबा पोगेले भने, ‘त्यही भएर सबै चुप छन्!sagunkhabar.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार