शान्ति सम्झौताको १२ वर्ष पूरा भएको अवसर पारेर नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग रातोपाटीका लागि बबिता शर्माले गरेको कुराकानी:

-वार्ताको प्रारम्भ एउटा हाइपोथेटिकल प्रश्नबाट गरौं, यदि शान्ति सम्झौता नभएको भए आजको नेपालको परिवेश कस्तो हुन्थ्यो ?
हाइपोथेटिकल प्रश्नको जवाफ दिन त्यति उपयुक्त हुँदैन । तर, म के बुझ्छु भने शान्ति सम्झौता नभएको भए दुईवटा कुराको बढी सम्भावना हुन्थ्यो ।
एउटा, माओवादीले पूर्णरूपले जित्थ्यो, सत्ता आफ्नो हातमा लिन्थ्यो र पुरानो राज्य संरचना, सामन्तवादका साथै त्यसमा जोडिएका समग्र संरचनाको अन्त्य गरेर २१औँ शताब्दीको पहिलो क्रान्ति गथ्र्यो ।
अर्को सम्भावना, क्रान्तिको युग करिब करिब दोस्रो विश्व युद्धबाट अन्त्य हुँदै आइरहेको थियो । त्यस्तो अवस्थामा माओवादी आन्दोलनले पूरै हारेर देशमा बाहिरी शक्तिको हस्तक्षेप हुने र देश नै अरू देशमा जाने सम्भावना पनि हुन्थ्यो ।
यी दुवै हाइपोथेटिकल कुरा नै हो त्यतातिर नजाऊँ । हामी शान्ति प्रक्रिया हुँदै आयौँ,त्यो ठीक भयो । अब अगाडि बढ्नुपर्छ ।
–शान्ति प्रक्रियामा सँगै आउनु भएका मोहन वैद्य र विप्लजस्ता नेता अहिले न प्रचण्डसँग छन्, न तपाईंसँग । उहाँहरूले शान्ति प्रक्रियामार्फत प्रचण्डले जनयुद्धको अवसान गराएको आरोप नै लगाउनुभएको छ ।
म जनयुद्धको स्वामित्व लिएर नयाँ बाटोमा अगाडि बढेको छु । देशमा ठूलो परिवर्तन भयो । त्यो परिवर्तनको रक्षा गर्दै त्यसैमा टेकर योभन्दा अगाडि समाजलाई लैजानुपर्छ । आर्थिक विकास समृद्धिको जगमा टेकेर उन्नत समाजवादको विकासमा जानुपर्छ । हिजोको कम्युनिस्ट ढाँचामा अबको दुनियाँ चल्न सक्दैन । त्यसलाई पुनर्गठन गरेर अगाडि बढ्ने प्रस्ताव हो मेरो ।
जनयुद्ध क्रान्तिको एउटा रूप थियो । क्रान्तिको एउटा रूपको अन्त्य भएकै हो । पुरानै रूपमा क्रान्ति अगाडि बढ्दैन । हामीले नयाँ शक्तिको तर्फबाट नयाँ क्रान्ति अगाडि बढाउन खोजेका छौँ । विप्लवले पुरानै ढाँचाले लैजान पर्छ भन्नु भएको छ । त्यहाँ फरक छ ।
चण्डजीले पनि सबै छोड्नु भयो भनेर म भन्दिनँ । एउटा संसदीय परिपाटीभित्र रहेर नै अगाडि बढाउँछु भन्ने उहाँको सोच होला । यी अलग–अलग बाटो हुन् । समाज परिवर्तको प्रक्रिया कहिलै पनि रोकिँदैन । कसैले रोक्छु र अन्त्य गर्छु भन्ने कुरा पनि होइन । बाटो मात्रै फरक हुन् । कुन बाटो उपयुक्त हो भोलि इतिहासले पुष्टि गर्ने छ ।
विप्लव–किरणले आफ्नो विचार राख्न पाउनु उहाँहरूको स्वतन्त्रता हो ।







