डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । १० जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ८ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतकमध्ये ७ जनाको सनाखत भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय डढेल्धुराका अनुसार मृत्यु हुनेमा पाँच महिला र १३ पुरुष रहेका छन् । सनाखत भएका ७ जनामा दिपायल सिलगढी नगरपालिका–ं ४ बस्ने ३५ वर्षीया सशी विक, सोही नगरपालिका वडा नं ११ बस्ने २५ वर्षीया गोदा भाट, सोही नगरपालिका ८ बस्ने ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल, डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० बस्ने १६ वर्षीय प्रेम बलायरका छोरा रोहित बलायर र ठेगाना नखुलेकी माया रावल रहेका छन् ।

घाइतेमध्ये ११ जनालार्इ जिल्लाबाहिर रेफर गरिएको छ । ८ जनाको धनगढीमा उपचार भइररहेको छ भने तीनजनालार्इ कोहलपुर पठाइएको छ । अन्य १६ जना घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए ।

डडेल्धुराको उग्रतारा मेला हेरेर फर्किएका यात्री चढेको से १ क २९३ नम्बरको बस बिहीबार बेलुकी डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा दुर्घटनामा परेको थियो । पीसजोन एकेडेमीको पहेँलो रंगको स्कुल बस सडकबाट करिव ३०० मिटर खसेको थियाे । बसमा ४० भन्दा बढी यात्री सवार थिए जसमध्ये २५ जना घाइते छन् ।
घाइते हुनेमा डडेल्धुरा सकायलका १७ वर्षीय इन्द्र भुल, कोरालखोलाका माया खड्का, २० वर्षीय सुनिता रावल, सकायलका १९ वर्षीय रमेश भुल, २० वर्षीय पुरन भुल, सेल्तडाका १६ वर्षीय नारद बलायर, गन्यापधुरा गाउँपालिकाका–१ का ३० वर्षीय ईश्वरी दमाई, गन्यापधुरा–३ का २४ वर्षीय चक्रबहादुर बोहरा, नवदुर्गा गाउँपालिकाका–२४ वर्षीय थानेश्वर अवस्थी रहेका छन् । यसैगरी डोटीको तल्लीसालका १६ वर्षीय विनोद किमाडी तथा तल्लीसाका २१ वर्षीय हरिना बोहरा, गोपघाटका–२३ वर्षीय श्याम ओझा, शिखर–६ का ३८ वर्षीय भीम बलायर, शिखर–१० का २९ वर्षीय सरिता बलायर, शिखरकै १७ वर्षीय रमेश धामी तिलताडिका–१५ वर्षीय सोनीया रावल, बन्डोरसैनका १५ वर्षीय सन्तोष रावल तथा २० वर्षीय भरत बलायर, वनलेकका ३८ वर्षीय सावित्री धामी रहेकाे जनाइएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार