वैध रुपमा विदेशी मुद्राको कारोवार गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय पुरुष र एक नेपाली महिला रहेका छन् ।
भारतको बम्वई महाराष्ट्रका ४८ वर्षीय बिनायक कुमार बाबुलाल शाह र काठमाडौं ३५ बस्ने २९ वर्षीया चन्दा थापालाई ३१ लाख २८ हजार सात सय नौ रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरुलाई पोखराको लेकसाईड स्थित एक होटलबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय पोखरा ६ वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए ।
लेकसाईडको एक होटलबाट ठुलो मात्रामा विदेशी मुद्रा (अमेरीकी डलर, भारतीय रुपैयाँ, पाउण्ड, युरो)को कारोवार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्रन सफल भएको उनले बताए ।
साथै, उनीहरुको साथबाट डेल कम्पनीको ल्यापटप १ थान, सामसुङ कम्पनीको एण्ड्रोइड मोवाइल दुई थान, सोनी कम्पनीको एण्ड्रोइड मोवाइल एक थान, एमआई कम्पनीको एण्ड्रोइड मोवाइल एक थान, विभिन्न बैङकको एटिएम कार्ड ६ थान, विभिन्न बैङकको चेकबुक चार थान, सोनी कम्पनीको पेन्ड्राइभ एक थान बरामद गरेको छ । साथै थापाको राहदानी, नागरिकता र शाहको राहदानी समेत प्रहरीले वरामद गरेको कार्कीले जानकारी दिए ।
उनीहरुलाई राजश्व अनुसन्धान विभाग काठमाडौं पठाइएको प्रहरीले जनाएको छ







