काठमाडौं – पार्टीका भ्रातृ संगठनलगायत तल्ला निकायसम्म एकीकरणको टुंगो लगाउन नेकपा सचिवालयको बैठक मंगलबार बस्दैछ । बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोक्ने तयारी छ ।
पार्टीले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई केन्द्रीय सदस्यको जिम्मेवारीका विषयमा गृहकार्य गर्न जिम्मा दिएको थियो । पौडेल र थापा कार्यदलले आवश्यक गृहकार्य गरेर त्यसको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसकेको छ ।
यसअघि नेताहरुबीच केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोक्नु भन्दा पहिले पोलिटब्युरो गठन गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले सहमतिविपरीत केन्द्रीय सदस्यको जिम्मेवारी तोकेपछि मात्र पोलिटब्युरो गठन गर्ने तयारी गरेका छन् ।
उनीहरूको यस्तो तयारीप्रति पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ असन्तुष्ट भएका छन् ।
अध्यक्ष ओली र प्रचण्ड गत साता पार्टी बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका २१ केन्द्रीय सदस्यहरूमाथि कारबाही गर्ने सोचमा रहेको एक नेताले बताए ।
अध्यक्षद्वयको धारणासँग नेपाल, खनाल, गौतम र श्रेष्ठ असहमत छन् । अध्यक्षद्वयले पार्टीभित्र विधिविपरीत एकलौटी गर्न खोजेपछि नयाँ मोर्चा बन्ने अवस्था उत्पन्न भएको स्रोतले बतायो। नेपाल, खनाल, गौतम र श्रेष्ठबीच पछिल्लो समयमा मोर्चा बन्नुको कारण पनि यही रहेको बताइएको छ।
नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पोलिटब्युरो गठनको प्रस्ताव अघि सारे पनि अध्यक्षद्वय ओली र प्रचण्डले केन्द्रीय सदस्यको कार्य विभाजनपूर्व पोलिटब्युरो गठन नगर्ने अडान लिएपछि पोलिटब्युरो गठन प्रक्रिया पछाडि धकेलिएको हो ।mediadabali.com







