आफूलाई श्रीमानबाट आड भरोसा प्राप्त होला भन्नुपर्ने ठाउँमा दुर्गादेवीलाई अहिले डर पलाएको छ । श्रीमानको अवस्था के होला, कहिले ठीक होला भन्ने पिरलो छ । ‘देवर र भिनाजु पनि आउनुभएको छ, उहाँहरु नआउनुभएको भए त मैले एक्लै सम्हाल्न सक्दै सक्दैन थिएँ’ एकछिनको मौनतापछि उनले भनिन्, ‘ठीक भएन भने त घर लैजानै सकिँदैन । घर लगेर हामीले के गरी राख्ने ? कसरी सम्हाल्ने ?’
‘बिरामी हुनअघि उहाँको अवस्था केही बुझ्न पाइनँ । हामीबीच छोरीका बारेमा बाहेक अरु कुराकानी भएको थिएन, सँगै न्यायका लागि लडिरहेका हौँ’ उनले भनिन् ।
दुर्गादेवीलाई भेट्नेहरुले भनिरहेका थिए, न्याय मिल्छ, तपाइँ पीर नगर्नुस्, मन बलियो पार्नुस् । सोमबार अस्पतालमै भेट्न पुगेका नयाँ शक्ति पार्टीका नेता डाक्टर बाबुराम भट्टराई र हिसिला यमीले पनि त्यही भने– ‘निर्मला तपाईंकी मात्रै छोरी होइनन् । हाम्री पनि छोरी हुन् । न्यायको यो लडाइँमा हामी पनि तपाइँसँगै छौँ, हिम्मत नहार्नुहोला ।’
दुर्गादेवीले उही मलीन अनुहारमा न्यायको आश देखाएर भनिन्, ‘छोरीको न्याय त जसरी पनि पाउनै छ अहिले उहाँको बिमार जसरी हुन्छ, ठीक बनाउनुपर्यो । उहाँलाई राम्रो नभएर हामी सबैको जीवन बेहाल भइसकेको छ ।’
‘श्रीमानबाट सहयोग र हेरचाह पाउँला, हामीलाई सहयोग गर्नुहोला भनेर सोच्ने समयमा उहाँलाई नै यस्तो भइदिँदा के गर्नु र ! हामी कसरी उहाँलाई सम्हाल्न सकौँला खै’ दुर्गादेवीले भनिन् ।onlinekhabar बाट







