नेकपाका प्रभावशाली नेता एवं स्पष्टवक्ताका रुपमा चिनिने भीम रावलले  काठमाडौँमा आयोजित एसिया प्यासिफिक समिट कार्यक्रममा सरकारको सहभागितालाई लिएर गम्भीर प्रश्न उठाएका छन् । साथै, कार्यक्रमको आयोजना र आयोजकले नेपालमा गर्ने गतिविधि र आर्थिक क्रियाकलापको छानविन गर्न माग गरेका छन् । प्रस्तुत छ, राताेपाटी अनलाइनसँगकाेअन्तरवार्ताको सम्पादित अंशः

यतिबेला एसिया प्यासिफिक समिटको आयोजनाको विषयलाई लिएर विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् । यो समिटबारे तपाईंको व्यक्तिगत धारणा के हो ?

यस्ता विषयहरू पार्टीभित्र छलफल गरेर निर्णय गर्नुपर्छ भन्ने म ठान्छु । यो आयोजना गर्ने कुरा सुनेपछि पार्टीभित्रै छलफल गर्न इच्छुक थिएँ । धेरै दिन अगाडि नै यस विषयमा पार्टीका अध्यक्षद्वयको ध्यानाकर्षण गराएको पनि थिएँ ।

म विद्यार्थी हुँदा नै दक्षिण कोरियाली नेता मुनका बारेमा सुनेको थिएँ । न्युजविक लगायतका पत्रिका पढ्दा उनी अत्यन्त विवादास्पद व्यक्ति भएको कुरा त्यतिबेला सञ्चार माध्यममा आएको कुुरा मेरो स्मरणमा एकदमै ताजा थियो ।

अहिले नेपालमा सरकार स्वयम् त्यस्तो खालको सम्मेलनमा संलग्न हुने कुरा सुनेपछि मैले प्रधानमन्त्री समक्ष, पार्टीका अध्यक्षद्वय र महासचिवको मैले ध्यानाकर्षण गराएको थिएँ । सम्मेलन अयोजना त आफ्नो ठाउँमा छ, कार्यक्रममा नेकपाका सम्पूर्ण निर्वाचित नगरका प्रमुख उपप्रमुख दम्पत्तिलाई आशीर्वाद दिने र ज्याकेटसम्म दिने प्रलोभन देखाइएको थियो ।

पार्टी र सरकार कुनै संस्था वा कसैको निहित स्वार्थमा दुरूपयोग हुनुहुँदैन भन्ने मेरो धारण थियो । किनभने सरकारलाई यसै पनि जनताले सुपरिवेक्षणमा राखिरहेका हुन्छन् । कतिपय विषयमा कतिले प्रहार गर्न खोजिराखेका हुन्छन् ।

तर मैले ध्यानाकर्षण गराएको कुरा र व्यवहारको तालमेल देखिनँ । मैले राखेको कुरा पार्टीभित्र छलफल नभएपछि पार्टीको भविष्यलाई प्रभाव पार्ने, राष्ट्रको हित, देशको गरिमा र सरकारको मर्यादामा प्रभाव पार्ने कुरामा अहिले सार्वजनिक रूपमा बोल्नका लागि यहाँ आएको हुँ ।

सरकार एउटा संस्थाले गरेको कार्यक्रममा किन यसरी लागिपरेको होला ?

मलाई पनि  आश्चर्य लाग्छ । कुनै पनि गैरसरकारी संंस्था वा व्यक्ति विशेषको कार्यक्रममा सरकार कहिल्यै पनि आयोजक हुँदैन । कहिल्यै पनि सरकारले त्यसमा पहल गर्दैन । यदि राम्रो संस्था छ भने सरकारको तर्फबाट वातावरण बनाउने, केही सहयोग गर्ने हुनसक्छ । तर कुनै बेला उत्तर कोरियाबाट जासुुसी गरेको अभियोगमा ५ वर्ष कैद सजाय गरिएका, अमेरिकामा कर छलेको अभियोगमा १८ महिना कैदमा परेका, बेलायतमा १९९५ मा प्रवेश निषेध पारिएका मुन भन्ने व्यक्तिले खोलेका यो युनिफिकेसन चर्च भन्ने संस्था खोलेका हुन् ।

यस्तो संस्थालाई सरकारले अगाडि सरेर विभिन्न देशका विशिष्ट पाहुनालाई बोलाएर कार्यक्रम गर्नु, कार्यक्रममा गएर सहभागी हुनु अत्यन्तै दुःखको कुरा हो ।

 तपाईंको मत यो कार्यक्रम यो देशमा गर्न नै दिन नहुने भन्ने हो कि मात्र सरकार सहभागी हुनुहुन्न भन्ने हो ? 

मैले सञ्चार माध्यममा पढेअनुसार जाने बुझेका कुरा राखेको हुँ । सरकारले यस विषयमा छानविन गरोस् । म गृहमन्त्रालयलाई आग्रह गर्छु ।

एउटा परिवार दल भन्ने छ । ती दलका नेताहरूले नक्सालमा कार्यालय खोलेर कैयौँ नेपालीहरूलाई रकम सङ्कलनको नाममा दक्षिण कोरिया, जापान जस्ता देशहरूमा पठाएर त्यहाँका सडकमा पैसा माग्न लगाएर नेपालको बेइज्जत भइरहेको छ र त्यहाँका मानिस मगन्तेहरूबाट आजित भएका छन् भन्ने समाचार आएको छ, यो कुरा के हो ?

दोस्रो, यत्रो ठूलो कार्यक्रम गर्न जरुरी थिएन । हाम्रा सम्पूर्ण जननिर्वाचित जनप्रतिनिधिलाई हामीले अहिलेसम्म एउटा प्रशिक्षण दिन सकेका छैनौँ, अहिलेसम्म पार्टीले बोलाएको छैन । अनि दम्पतीसहित आएर होटलमा बस्ने, ज्याकेट दिन्छु भनेर प्रलोभन देखाउने ?  यो पैसा कहाँबाट आयो ? यसको छानविन हुनुपर्छ ।

नेपालमा मनी लन्ड्रिङको आफ्नै नियम छ । त्यत्रो रकम कहाँबाट आयो ? कसले दियो ? र, कसरी यो खर्च भएको छ ? यसमा को–को संलग्न छन् ? यसको छानविन हुनुपर्छ ।

भूराजनीतिक अवस्था जटिल भएको नेपालजस्तो देशले यस्तो समयमा धेरै विचार पुर्याउनुपर्छ । अहिले आङ सान सु कीलाई यहाँ बोलाइयो । कुनै बेला म पनि उनलाई आदार गर्थें । उहाँले नोबेल पुरस्कार पनि पाउनुभयो । तर अहिले रोहिङ्ग्या शरणार्थीको विषयलाई लिएर संयुक्त राष्ट्र सङ्घ, कतिपय युरोपेली मुलुक र थुप्रै देशहरूले उहाँको आलोचना गरिरहेका छन् । कतिले त उहाँलाई दिएको सम्मान पनि फिर्ता लगेका छन् । अनि यस्तो संवेदनशील कूटनीतिमा नेपालले विचार गर्नुपर्छ कि पर्दैन ?

कतिपय साथीहरूले तर्क गरेको सुनेको छु, उहाँहरूले अङ्ग्रेजी शब्द प्रयोग गर्दै यो त ‘होस्ट’ गरेको हो भन्नुभएको छ । होस्टको नेपाली अनुवाद नेपाली जनताले बुझ्छन् होला नि । त्यसको शब्दार्थ अनुवाद गर्ने हो भने म अनुवाद गरिदिन्छु । अतिथिहरूलाई सेवा र स्रोत जुटाउने काम जसले गर्छ त्यसलाई अङ्ग्रेजी शब्दमा बेलायतीहरूले  शब्दकोशमा ‘होस्ट’ भन्छन् । अनि के सरकारले यस्तो विवादास्पद संस्थाको कार्यक्रम ‘होस्ट’ गर्न मिल्छ ?

त्यसो भए पैसा सरकारले दिएको रहेछ भन्ने बुझियो नि हैन ? 

यो आपत्तिजनक नै हो । नेपाली जनताले तिरेको कर यस्तो विवादास्पद संस्थाको विवादास्पद कार्यक्रममा खर्च गरेको हो भने अत्यन्त आपत्तिजनक कुरा हो । यो गर्नुहुँदैन थियो ।

यो संस्था राम्रो थियो, विश्वव्यापी छवि राम्रो थियो, त्यसले साँच्चिकै नेपालको छविलाई माथि पाथ्र्यो भने पनि प्रधानमन्त्री आफैले चिठ्ठी लेखेर विभिन्न देशका मान्छेलाई यो देशमा आउनु भनेर निम्तो दिन मिल्दैन ।

मैले थाहा पाएसम्म प्रधानमन्त्रीको नाम प्र्रयोग गरेर पत्राचार गरिएको छ र पत्रमा भनिएको छ, यो पत्र परिवार दलका एकनाथ ढकालजीले प्रस्तुत गर्नुहुनेछ । के हो यो ? एकनाथ ढकालजी र सरकारको सम्बन्ध के हो ?

उहाँप्रति मैले यसरी नाम लिँदा कसैले विरोध भन्ने ठान्ला तर म तथ्य मात्र बोल्दैछु । उहाँको मैले दुई–तीन दिन अगाडि रेडियोमा अन्तरवार्ता सुनेको थिएँ । अन्तरवार्तामा उहाँले भन्नुभयो, ‘म कम्युनिस्ट होइन । मेरो छुट्टै दल परिवार दल छ ।’ उहाँको कम्युनिस्टसँग ३ बँुदे कार्यगत एकता भएको थियो । उहाँको के योगदान छ कम्युनिस्ट आन्दोलनमा ?

उता मुन पनि घोर कम्युनिस्ट विरोधी थिए । उनकी श्रीमती अहिले जो यहाँ नेपाल आएकी छिन्, उनको परिवार घोर कम्युनिस्ट विरोधी थियो । त्यसैले उत्तर कोरियाले निकाल्यो । मुनले त कम्युनिस्टहरूलाई सैतान भन्थे । म त्यो तथ्यसहित पेश गरिदिन सक्छु । अनि त्यस्तो व्यक्तिलाई नेपाल कम्युनिस्ट पार्टीको यस्तो शक्तिशाली सरकारले काँधमा राखेर प्रधानमन्त्री स्वयम्ले विभिन्न देशलाई पत्र लेख्नु यो धेरै दुःखको कुरा हो ।

तपाईंले यस्तो भनिरहँदा त्यति ४५ राष्ट्रका कतिपय राष्ट्रका त राष्ट्र प्रमुख नै, सरकार प्रमुख नै, साथै हाम्रै देशका पनि मूर्धन्य नेताहरू, प्रधानमन्त्री, नेताहरू के नबुझी गएका हुन् त ? 

अब उहाँले बुझ्नुभयो बुझ्नुभएन उहाँहरूलाई नै सोध्नुस् । मैले त मैले बुझेको कुरा भन्ने हो । कुनै नेताहरू जाँदैमा कुनै कार्यक्रम भयङ्कर पवित्र हुन्छ र भयङ्कर गजब भइहाल्छ भन्ने होइन ।

जहाँसम्म विभिन्न देशका मान्छे आए भन्नुहुन्छ, कस्ता देशका मान्छे आएका छन् ? के चीनका, भारतका प्रधानमन्त्री, राष्ट्रपति यहाँ आउनुभएको छ ? युरोपका आएका छन् ? जापानका आएका छन् ? जापान नेपालको ठूलो सहयोगी राष्ट्र हो । बेलायतमा त प्रतिबन्ध नै थियो यो संस्थालाई अनि को आउने ? अनि सानातिना राष्ट्रका मान्छे जो विभिन्न कारणबाट प्रभावित हुन्छन् र विभिन्न कूटनीति र विभिन्न देशबाट आफै उनीहरू एक प्रकारले अलगथलग अवस्थामा परेका छन् । त्यस्ता व्यक्तिहरूलाई बोलाएर के हुन्छ र ?

मैले राखेको कुरा पार्टीभित्र छलफल नभएपछि पार्टीको भविष्यलाई प्रभाव पार्ने, राष्ट्रको हित, देशको गरिमा र सरकारको मर्यादामा प्रभाव पार्ने कुरामा अहिले सार्वजनिक रूपमा बोल्नका लागि यहाँ आएको हुँ ।

नेपालले नयाँ संविधान ल्याएको छ, यत्रो ठूलो शान्ति प्रक्रिया पूरा गरेको छ, तीन–तीन तहका निर्वाचन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनमा पहिलो पटक एउटा सुनौलो अवसर प्राप्त गरेको छ । यस्तो अवस्थामा के काम गर्नुहुन्छ, के काम गर्न हुँदैन, त्यसको प्रभाव के हुन्छ, त्यसको परिणाम के हुन्छ ? भनेर सोचेर कदम चाल्नुपर्छ । मलाई यसमा धेरै मूल्याङ्कन भएको जस्तो लागेन ।

एउटा व्यक्तिले यस्तो कार्यक्रमको आयोजना गर्दा सरकार नै लाग्नुको उद्देश्य के हुन सक्छ ? 

म कसैलाई कुनै दोष दिन चाहान्न । यसको उद्देश्य के होला भन्ने त उहाँलाई नै सोध्नुस् ।  मैले बाहिरबाट हेर्दा परिवार दल, एकनाथजीहरूको यो साधन, स्रोत कसले कहाँबाट प्रभावित गरेको छ ? मलाई लाग्छ त्यसको दुरूपयोग र लहैलहैमा यी सम्पूर्ण काम भएको मलाई लाग्छ ।

यसले हाम्रो देशमा पार्ने प्रभाव यसले हाम्रो देशको कूटनीतिमा पार्ने कुप्रभाव केही पनि नहेरी यो संस्थाको पृष्ठभूमि नहेरी यो कस्तो संस्था हो नहेरी यो गर्नु परिवार दलको (एकनाथजीको) प्रभावमा परेर हुनसक्छ । यसबारे स्वतन्त्र आयोग गरेर गरेर छानबिन गरेर पत्ता लगाऊँ ।

आयोग गठन गर्दा त तपाईंकै पार्टीका दुईवटै अध्यक्ष र नेताहरू नै मुछिन्छन् त ? 

जजसले गल्ती गरेका छन् तिनले जिम्मेवारी त लिनैपर्छ नि । पार्टीका नेताहरू र सरकार भनेको देश र जनताप्रति उत्तरदायी हुनैपर्छ । अनि यत्रो ठूलो कार्यक्रम गर्दा हाम्रो पार्टीभित्र छलफल गर्नुपर्दैन ? हामी त्यही पार्टीमा लागेका मान्छे होइनौँ ? यो सरकार कसको शक्तिमा यहाँ पुगेको छ ? हामीजस्ता व्यक्तिले मैदानबाट यो पार्टीलाई जिताएर सरकार बनेको होइन ? अनि के आज परिवार दल र एकनाथजीले चलाउने यो पार्टी ? यो कुरा स्वीकार्य हुन सक्दैन । कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।

मलाई लाग्छ नेपाल कम्युनिस्ट पार्टीका कुनै पनि कार्यकर्ता र आफ्नो स्वाभिमानप्रति प्रतिबद्ध कुनै पनि नेपालीले यस्तो कुरा स्वाभाविक हो भनेर कसैले भन्ला भन्ने मलाई लाग्दैन ।

 यो कार्यक्रमले के–के नकारात्मक प्रभाव पार्ला त ?

नकारात्मक प्रभाव त परि नै सक्यो । नेकपा जस्तो दुई–दुईवटा पार्टी एकीकृत भएर बनेको शक्तिशाली पार्टी एउटा परिवार दलले हल्लाएर हल्लिने रहेछ भन्ने एउटा कुप्रभाव त परिहाल्यो । मलाई त्यसमा धेरै दुःख छ ।

दोस्रो, सरकारको आफ्नो मर्यादा हुन्छ । प्रधानमन्त्रीले कुनै एउटा निजी स्वार्थमा मान्छेलाई कार्यक्रममा भाग लिन पत्र पठाउन मिल्दैन ।

तेस्रो, हाम्रोजस्तो संवेदनशील भूराजनीति भएको, भर्खरै द्वन्द्वबाट बाहिर आएको देश अब सिर्जना र निर्माणमा लाग्नुपर्ने बेला कूटनीतिक रूपमा अफ्ठ्यारोमा परेका मान्छेहरूलाई यहाँ बोलाएर कार्यक्रम गर्दा संसारले हामीलाई कसरी हेर्छ ? यसै पनि नराम्रो प्रभाव परिसक्यो ।

चौथो, युनिभर्सल पिस फेडेरेसन नामक यो संस्थाले हामी सबै भगवानका सन्तान हौँ भन्छ । जुन उद्देश्यका साथ यो संस्था गठन भयो, यसले जस्तो सिद्धान्त बोेकेको छ, त्यो हेर्दा हामी कम्युनिस्ट पार्टीले कम्युनिस्ट सिद्धान्त छोडिसकेका हौँ ? के अब हामी यो सिद्धान्तको पछि लागेका हौँ ? के हो यो ? के कुरालाई हामी बढावा दिन खोजिरहेका छौँ ? आफ्नो देशको संस्कृति, आफ्नो देशको सभ्यता, आफ्नो देशका जनताको संस्कृतिको रक्षा गर्नुपर्ने बेलामा हामी यस्ता काम गर्छौं भने त प्रभाव त परि नै सक्यो ।

अब यो प्रभावबाट मुक्त कसरी हुने ? बरु त्यतातर्फ सोच्नुपर्छ ।

तपाईंले बोकेको सिद्धान्तभन्दा यो पृथक् भयो ? 
विचारधाराको त कुरै नगर्नुस् । यसप्रति कुनै पूर्वाग्रह छैन । मान्छेको विभिन्न विचारधारा हुनसक्छ, धर्म हुनसक्छ । म सबैको सम्मान गर्छु । तर कुन कुरा कुन बेला गर्दा राष्ट्रलाई के असर पर्छ भन्ने कुरा त ध्यान दिनुपर्यो नि ।

हैन, मैले जान्न चाहेको चाहिँ अहिले प्रधानमन्त्री जुन पार्टीमा हुनुहुन्छ अथवा प्रचण्ड जुन पार्टीबाट अध्यक्ष हुनुहुन्छ उहाँहरूले बोकेको विचारधाराभन्दा यो विरोधाभाषपूर्ण भइहाल्यौ हैन ? 

विरोधी हैन । यो संस्थाका संस्थापक र निजकी श्रीमती जो यहाँ ल्याइएको छ, उहाँहरू घोर कम्युनिस्ट विरोधी हो । जासुसको आरोप लागेर जेलमा परेको, कर छलेको आरोपमा जेलमा परेको, बेलायतजस्तो देशले पनि प्रतिबन्ध लगाएको, यहाँभन्दा बढी मैले के भन्ने ?

भनेपछि कूटनीतिक हिसाबले पनि यो राम्रो देखिएन ?

मर्यादा उल्लङ्घन भएको छ यहाँ । देशको प्रधानमन्त्रीले एउटा विवादास्पद संस्थाको कार्यक्रममा जने ? यो संस्था १९८० कति विवादास्पद थियो भन्ने कुरा अहिले लाइब्रेरीमा न्युज विकका पानाहरूमा हेर्नुभयो भने देख्नुहुन्छ ।

यो संस्था यसको पारिवारिक गुटबन्दीमा फसेको छ । तीनवटा संस्था बनिसकेका छन्– एउटा श्रीमती, जेठो छोरा र कान्छो छोराले । ती आआफ्नो काम गरिराखेका छन् । त्यसमध्ये एउटा छोराले त अबदेखि आशीर्वाद दिने समारोहमा एआर–१५ भन्ने एसल्ट राइफल बोकेर आउनु भनेर निर्देशन दिएका छन् । त्यो कुराले अमेरिका जस्ता ठूला देशहरूमा विवाद भइरहेको छ । अनि सरकार बुझ्दै नबुझी त्यस्तो संस्थाको लहैलहैमा लाग्न सुहाउँछ ?

– धार्मिक हिसाबले यसको असर के छ ?

जब कोरिया युद्धमा पाँच वर्ष जेल परेर भागेर आएपछि मुन र उनको श्रीमतीका परिवार चर्चमा गएर लुकेर बसेका थिए । त्यसैबेला उनले बिहे गरेका थिए । त्यस्तो अवस्थामा बनेको संस्थाले हामी सबैलाई मसिहाका सन्तान हौँ भन्छ र संसारभरी इसाई धर्मको प्रचार गर्छ । मुनले संस्था खोल्ने बेला जिससले आफूलाई उनले गर्न नसकेको काम गर्न पठाएको बताएका थिए ।

यस्तो संस्थाको कार्यक्रममा नबुझी पछिलागेर नेपाल जस्तो धर्मनिरपेक्ष देश, जहाँको संस्कृति हेर्नुभयो भने बुद्धधर्मबाट, हिन्दु धर्मबाट धेरै प्रभावित छ । त्यो धर्मले कसैमाथि अत्याचार गरेको छैन । अनि त्यहाँ आएर राज्यका प्रधानमन्त्री र मन्त्रीहरू मान्छेलाई विमानस्थलमा नै लिन गयो भने त्यसको असर कति पर्छ, त्यो स्वयम् प्रष्ट छ ।

त्यसो भए यो सीधा–सीधा धर्म प्रचार हो ?

इतिहासले त्यही देखाएको छ । मैले पढ्दा त्यही पढेको छु । जोकोहीले पढ्न सक्नुहुन्छ, त्यसको बारेमा के लेखिएको छ ।

यो समिटले पनि दिने सन्देश त्यही हो ?

मैले सुनेको छु आज दम्पती आएर आशीर्वाद लिने कार्यक्रम छ रे । एउटा विशेष चीज पिउन लगाइन्छ रे । यो सरकारले गर्नुपर्ने महत्त्वपूर्ण कामहरू अरू कति छन् । कमसेकम पार्टीको एउटा बैठक गराइदिएर हामीलाई आफ्नो धारण राख्न दिए कति राम्रो हुन्थ्यो । तीन–तीन दिनसम्म प्रधानमन्त्रीलाई सोल्टी होटलमा राखेर यो कुनै पार्टी र सरकारको मर्यादा माथि उठाउने काम हो भनेर कसले भन्न सक्छ ?

संविधान निर्माण गर्दा तपाईं महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो । अहिलेको यस्तो क्रियाकलापले संविधानमा धर्मनिरपेक्षता राखेर कहीँकतै गल्ती गरिएछ जस्तो लाग्छ कि लाग्दैन ?

धर्मनिरपेक्षता भनेको कुनै धर्मलाई घृणा गर्नुपर्छ भनेको होइन अथवा धर्म परिवर्तन गराउन पाइन्छ भनेका पनि होइनौँ । हामीले भनेको के हो भने राज्य किन कुनै अमुक धर्ममा संलग्न हुने ? धर्म भनेको व्यक्तिको आस्था हो । राज्यले त धर्मको उत्थान गर्ने हो । धर्ममै राज्य किन संलग्न हुने ? तर एउटा बदनामी संस्था ल्याएर राज्य नै यसरी लाग्ला भनेर त हामीले कल्पनासमेत गरेका थिएनौँ ।

हिजो धर्मनिरपेक्ष राष्ट्र बनाउँदा पश्चिमी राष्ट्रको प्रभावमा गरियो भन्ने आरोप लगाइयो । त्यो अहिले प्रमाणित भएको हो ? 

जबसम्म जुन देशको संस्कृति जीवित रहन्छ तब मात्र त्यो देश जीवित रहन्छ भन्ने मान्यता राख्छु । यद्यपि त्यो संस्कृति कसैप्रति होच्याउने प्रवृत्तिको हुनुहुँदैन भन्ने कुरामा पनि म एकदमै जोड दिन्छु । तर म त्यसको प्रवक्ता नभएकाले धमनिरपेक्षताले ककसलाई अफ्ठ्यारो परेको छ भनेर मलाई नसोध्नु होस् । त्यसका प्रवक्तालाई सोध्नुहोस् । यद्यपि यो सम्मेलनले धेरै प्रश्न जन्माएको पक्कै हो ।

हिजो हिन्दु धर्मको एकल थिचोमिचो अन्त्य गर्न घोषणा गरिएको धर्मनिरपेक्षताको बाइप्रोडक्टको रूपमा यसलाई लिन सकिन्छ ?

संविधानले कसैलाई यस्तो सम्मेलन गर भनेर लेखेको छैन । हाम्रो देशको हित कसरी हुन्छ, त्यो कुरा सोच्नुपर्छ । देश हाँक्छु भन्नेहरूले जनताले चुनेर तपाईंले पठाइसकेपछि जे पनि हुन्छ भन्ने सोच्न मिल्छ ? जनताले मलाई के जे गर्ने पनि लाइसेन्स दिएको हो र ? जनताले त मलाई यो देशको हित गर्ने, यो राष्ट्रको हितमा काम गर्ने, लोकतन्त्रको रक्षा गर्ने र विकास र समृद्धिको काम गर्ने मात्रै मलाई प्रमाणापत्र दिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार