नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा गाडीको विषयलाई लिएर लामो समयसम्म अध्यक्ष र उपाध्यक्षका बीचमा बोलचाल नै बन्द भयो । भाडामा लिएको एउटा सवारी साधनलाई अध्यक्षले मात्रै प्रयोग गरेपछि विवाद भएको थियो ।

अध्यक्ष र उपाध्यक्षको एक अर्कालाई देख्ने बित्तिकै ‘मुन्टो बटार्ने’ अवस्थाले काम कारबाहीमा असर पर्यो । जबकी दुवै जना एउटै पार्टीबाट निर्वाचित भएका थिए । अति नै भएपछि गाउँपालिकाले अर्को गाडी पनि भाडामा ल्यायो । जेठदेखि त्यहाँ दुई वटा गाडी भाडामा चलेका छन् । अध्यक्ष र उपाध्यक्षले एक/एक वटा गाडी चढेका छन् ।
त्यहाँ अझ रमाइलो त के भएको छ भने भर्खरै गाउँपालिकाले एउटा नयाँ गाडी किनेको छ । त्यो नयाँ गाडी चढ्नका लागि न अध्यक्षले मानेका छन्, न त उपाध्यक्षले नै । दुवै जना भाडाकै गाडी चढ्ने अडानमा छन् ।
अध्यक्ष र उपाध्यक्षलाई किन भाडाकै गाडी प्यारो ? स्रोतले भन्यो, ‘गाउँपालिकाले किनेको गाडीमा सरकारी नम्बर प्लेट लाग्छ । त्यो गाडी बिदाको दिन, आफ्नो निजी काम (कार्यक्रमहरु) मा लिएर जान पाइदैन । भाडाको गाडी त जतासुकै लैजान पाइने भएकाले अध्यक्ष र उपाध्यक्ष दुवैले भाडाकै गाडी रोजेका छन् ।’
कहिले गाडी नभएर झगडा त कहिले नयाँ गाडी आएपनि नचढ्ने अडान । यी दुवै घटनाले राप्तीसोनारी गाउँपालिका चर्चामा रहेको छ । अब तीन वटा गाडी त राख्न सकिदैन । भाडाको एउटा त फिर्ता गर्नै पर्छ । स्रोतले भन्यो, अध्यक्ष र उपाध्यक्षले मिलाउनु होला । एउटा गाडी भाडामा लिदा मासिक एक लाख २५ हजार बढी खर्च हुने गरेको छ ।’
राप्तीसोनारीमा गाडीको चाङ लागिरहदा बैजनाथ गाउँपालिकामा भने गाडीको सुरसार नै छैन । गाउँपालिकाका प्रमुख मानबहादुर रुचाल नै निजी मोटरसाइकल चढ्छन् । विकास गर्ने पैसाले गाडी किनेर नचढ्ने अडानमा छन्, रुचाल । भे ४ प ७६२७ नम्बरको निजी मोटरसाइकल नै चढेर रुचालले गाउँपालिकाको काम गरिरहेका छन् । अध्यक्षले नै निजी मोटरसाइकल चढेर हिडेपछि अरुका लागि गाडी या मोटरसाइकल खरिद गर्ने प्रश्न पनि आएन । अहिले आएर बैजनाथले वडासचिवसम्मलाई मोटरसाइकल दिने कि भन्ने सोच बनाएको छ ।
खजुरा गाउँपालिकाले पनि गाडी खरिद गरेको छैन । न त वडाध्यक्षलाई मोटरसाइकल नै दिएको छ । गाडी किन्ने निर्णय गरेर पनि गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति पछि हटेका थिए । वडाध्यक्षहरुलाई मोटरसाइकल खरिदका लागि छुट्याइएको ३० लाख रुपैया पनि प्राविधिक शिक्षालय स्थापनाका लागि दिइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा आफ्नै गाडी छन् । मेयरलाई कुन चाहि गाडी चढ्ने रोजीछाडी नै छ । नेपालगञ्ज उपहानगरपालिकालाई एक विदेशी दाताले जाँदाजाँदै भर्खरै विजुलीबाट चल्ने सानो गाडी दिएको छ । मेयर धवल शमशेर राणा बजारभित्र त्यही गाडीमा देखिने गरेका छन् । यो गाडी वातावरणमैत्री छ ।
डुडुवा, नरैनापुर, जानकी गाउँपालिकाका प्रमुख पनि भाडामा लिएको स्कारपियो चढ्छन् । जिल्लाका आठमध्ये धेरैजसो स्थानीय तहले वडाध्यक्षलाई समेत मोटरसाइकल दिएका छन् ।







