नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गृहजिल्ला कालिकाेट आइपुगेका छन्।

पार्टीका स्थायी कमिटि सदस्य समेत रहेका प्रकाण्डलाई स्थानीय नेता तथा कार्यकर्ताले मंगलबार जिल्ला सदरमुकाम मान्ममा स्वागत गरे।  प्रकाण्ड पार्टीले बुधबार मान्ममा गर्न लागेको जनसभामा सहभागी हुने गृहजिल्ला आएका हुन्।

प्रकाण्डले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई केही दिनमै आफूहरुले बाहिर ल्याएर कारबाही गर्ने बताएका छन्।

निर्मलाको घटना राज्यको पहुँच भन्दा बाहिरको नभएको बताउँदै सरकारले चार महिनासम्म एउटा अपराधिक घटनाको दोषीलाई कारबाही गर्न नसकेकोप्रति प्रश्न गरे। उनले अपराधीलाइई सरकारले नै संरक्षण गरेको दाबीसमेत गरे।

उनले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले अब पनि कारबाही गर्न नसक्ने बताउँदै केही समय अगाडि चर्चामा आएको सुन काण्डजस्तै निर्मलाको घटना पनि त्यसै गरी मिलाउने प्रयास भइरहेको आरोप लगाए।

‘निर्मला नेपाली एक छोरी हो। घटनाको वास्तविकता बाहिर नआउनु राज्यकै अपमान हो’, उनले भने, ‘जुन कुरा सरकारले गर्न सकेन। अब हामी गरेर देखाउछौँ।’

निर्मलाको परिवारलाई न्याय दिनका लागि आफूहरुले पहल सुरु गरिसकेको उनको दाबी छ।  निर्मला हत्या प्रकरण सम्पूर्ण नेपाली चेलीको अस्तित्वसँग जोडिएको बताउँदै उनले राज्यले संरक्षण गरेका चेलीको अस्मिता लुट्ने गुण्डालाई आफूहरुले तह लगाउने दाबी गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार