धादिङ क्षेत्र नं २ बाट निर्वाचित सत्ताधारी नेकपाका संघीय सांसद खेम प्रसाद लोहनीले शक्तिको आडमा किर्ते जालसाजी गरेर अर्काको जग्गा हडपेकाे पीडितले गंभीर अाराेप लगाएका छन् ।

पीडक भनेर अाराेपित सांसद लाेहनी (बायाँ) र पीडित परिवारले विप्लव नेकपाकाे जनअदालतमा लेखेकाे पत्र (दायाँ) ।
सांसद लोहनीले धादिङ जिल्ला चैनपुर ३ घर भएकी ६४ वर्षीय धन कुमारी लोहनीको जग्गा शक्तिको आडमा धर धम्की देखाइ हडपेका हुन् । लोहनीले सो जग्गा हडप्न मालपोतका कर्मचारीहरुलाई प्रभावमा पारेको पीडित घरपरिवारले जनाएका छन् ।
पीडित धनकुमारी लोहनी सांसद खेम प्रसाद लोहनीको कान्छी आमा हुन् । स्वर्गीय नन्दलाल लोहनीले दुईवटी श्रीमती विवाह गरेकोमा सांसद लोहनी जेठी श्रीमतीबाट जन्मिएका छोरा हुन् भने उनको कान्छी श्रीमती धनकुमारी लोहनी थिइन । श्रीमानको निधनपछि आफुले पाउनुपर्ने धनकुमारीको जग्गा सांसद लोहनीले सत्ता, शक्ति र पैसाको प्रयोग गरेर आफ्नो नाममा नामसारी गर्न सफल भएका छन् ।
सत्ता र शत्तिको दुरुपयोग गरेर सांसद लोहनीले पीडित धनकुमारी लोहनीको जग्गा हडपेपछि पीडितको परिवारले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा एक निवेदन समेत लेखेका छन् ।
“उपरोक्त सम्वन्धमा धादिङ जिल्ला चैनपुर गाविस वडा नं ३ घर भएकी ६४ वर्षकी धनकुमारी लोहनीले आफ्नो स्वर्गीय श्रीमान नन्दलाल लोहनीको मिति २०७३–११–१६ का दिन मृत्यु भएको प्रमाणपत्रसहित स्वर्गीय श्रीमानको नाममा रहेको धादिङ जिल्ला चैनपुर गाविस वडा न ३ को कित्ता नंम्बर ३८,४६, ३ घ १५१ र १४२ को जग्गा आफ्नो नाममा नामसारी गर्न सम्वन्धित वडा कार्यालयको सिफारिससहित जिल्ला मालपोत कार्यालय धादिनमा गएको अवस्थामा उक्त कार्यालयका कर्मचारी निमिक्त प्रमुख मोति थपलिया र माधव भन्ने अर्का कर्मचारीको मिलोमतोमा एक निरक्षर महिलालाई शुरुमा नामसारीको लागि दिएको दर्ता भइसकेको निवेदन परिवर्तन गरि दोस्रो निवेदनमा हस्ताक्षर गराई सोही जिल्ला क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद खेप प्रसाद लोहनीले डर धम्की देखाई जालसाझीपूर्ण ढंगले उपरोक्त जग्गाका कित्ताहरुमध्ये महत्वपूर्ण जग्गा आफ्नो नाममा नामसारी गराए।” निवदेनमा लेखिएको छ ।

विप्लव नेकपाकाे जनअदालतमा पीडित परिवारले लेखेकाे निवेदन ।

अख्तियार अायाेगमा पीडितले लेखेकाे पत्र ।
विप्लव नेकपाको जनअदालतमा पनि निवेदन
सांसद लोहनीले आफ्नो जग्गा बलजफ्ती र अन्यायपूर्वक हडपेको भन्दै पीडित परिवारले विप्लव नेतृत्वको नेकपाद्धारा संचालित केन्द्रीय जनअदालतमा समेत न्याय पाउँ भनी निवदेन लेखेका छन् ।
अर्काको जग्गामाथि अन्यायर्पूवक ढंगले हडपेर सांसद खेम प्रसाद लोहनीले गरेको सबै हर्कत भ्रष्टचार हुने भन्दै पीडित परिवारले नेकपाको जनअदालतले अविलम्ब अनुसन्धान गरी कार्वाहीको कदम अगाडि बढाउन अनुरोध गरिएको छ ।
“एक निरक्षर सेवाग्राहीलाई डर धम्की देखाई आफ्नो हक अधिकार रहेको जमिन अर्काको नाममा नामसारी गराइनु पूर्ण रुपले भ्रष्टचार हुने हुनाले निज खेम प्रसाद लोहनीलाई जग्गा हडप्न सहयोग गर्ने मालपोतका कर्मचारीहरु र निजका श्रीमती भगवती अधिकारी लोहनलगायत यस कार्यमा संलग्न अन्य व्यक्तिहरुलाई छानविन गरी आवश्यक कार्वाही गरी पाउ भनी यो उजुरी पेस गरेको छु ।” भनेर निवदेकले केन्द्रीय जनअदालतमा निवदेन लेखेका छन् ।







