देशमा राजनीतिक विकृति भित्र्याउन पनि भूमिका खेल्नुभयो । राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमालेसहितको सरकार बनाउने योजनासहित सांसदहरूलाई समिट होटेलमा थुनेर राख्नुभयो । तत्कालीन प्रजातान्त्रिक युवा संघ(अहिलेको युवा संघ नेपाल)को अध्यक्षको हैसियतमा थुनिएका सांसदहरूलाई अस्लिल सिनेमा हेर्ने चाँजोपाँजो मिलाउनुभयो ।

त्यतिखेर म त युवा संघको अध्यक्ष मात्रै थिएँ । पार्टीले युवा संघलाई सांसदहरू भाग्लान्, यिनीहरूको रखवाली गर भनेपछि त गर्नैपर्‍यो नि । त्यस वेला केही नेताले जो शीर्ष नेताकै छेउछाउका थिए, उनीहरूले गर्नै नहुने के–के काम गरेका हुन् । म अहिले उनीहरूको नामचाहिँ भन्दिनँ है । त्यसमा सबैभन्दा आपत्ति जनाउने भनेको तत्कालीन राप्रपाका नेता स्वर्गीय जोगमेहर श्रेष्ठ हुन् । उनैले मलाई पनि भनेका हुन् । त्यो घटना भएको मलाई थाहा थिएन । आरके मैनालीसँग त झन्डै उनको हातपात नै भएको उनको । पञ्चायतको एउटा हस्ती । हरेक कोणबाट हेर्दा पनि पञ्चलाई त मान्छेहरूले खराबै भन्छ नि । त्यस्तो बेठीक मान्छेले समेत ‘नीच काम भयो,’ ‘हृदयमा चोट लाग्ने काम भयो’ भनेपछि आफैं बुझ्नुस् कस्तो काम भयो होला । कम्युनिस्ट पार्टीका कार्यकर्ताले मात्रै होइन, आममान्छेले पनि गर्न नहुने काम समिट होटेलमा भएको हो ।

समिटमा केही दिन राखिएपछि जोगमेहरजीको साह्रै आपत्ति भएपछि बल्खुको पार्टी कार्यालयमा ल्याएर राखियो । त्यसको तारबार लगाउने, खाना खुवाउने, साबुन–तेललगायतका आर्थिक प्रबन्ध मिलाउने काम मैले गरेको हो । लिला श्रेष्ठ सुब्बा भन्ने सांसद हुनुहुन्थ्यो । उहाँले ‘सांसदहरू भाग्न थाले, नबस्ने भन्दै छन्’ भनेपछि एउटा टिभी लगेर राखिदिएको हो । ‘बेन्डिट क्विन’ भन्ने फुलनदेवीको फिल्म लगाइदिएको हो । त्यो हेर्दाखेरि पर्दामा देखियो । केही मान्छे पर्दाकै मुनि सुतेका रहेछन् । फिल्ममा बलात्कारका सिनहरू पनि थिए, त्यस्तै आवाज आउने भयो । त्यो यौन व्यवसाय गर्नेको फिल्म त होइन, यथार्थमा आधारित हो । हेर्नचाहिँ त्यहाँ भएका सबै सांसदले हेरेका हुन् । जब कि मैले अहिलेसम्म त्यो फिल्म हेरेको छैन है । यही विषय माधव नेपाल, आरके मैनाली, साहाना प्रधानकोमा कम्प्लेन गरियो । साहाना र आरकेले त ‘हामीले पनि हेरेका हौँ, तिमीहरूलाई डिस्ट्रब भएको भए अर्को कोठामा जाँदा हुन्थ्यो नि,’ भन्नुभयो । माधव नेपाल अलि कडा स्वभावको अरूभन्दा अलि क्रियाशील पनि । उहाँले मलाई बोलाएर ‘के भएको हो’ भनेर सोध्नुभयो । मैले ‘भएको यस्तो हो, ल्याउने फलानो हो, चलाउने फलानो हो, हेर्ने फलाना फलाना हुन्’ भनेर सबै भनिदिएँ ।

नयाँ पत्रिकासँगकाे कुराकानीकाे छाेटाे अंश।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार