सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अाज (शनिबार) बस्दैछ । विगत पाँच महिनादेखि स्थगित हुँदै आएको बैठक अाइतबार पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।  बैठक निकै पेचिलो बन्ने सङ्केत घटनाक्रमहरूले देखाइसकेका छन् ।

एकीकृत पार्टी घोषणापछि उत्पन्न विभिन्न असन्तुष्टिहरूले बैठकमा प्रवेश पाउने निश्चित भएपछि बैठक पेचिलो हुने सो पार्टीका नेताहरूले बताएका छन् । ‘धेरै असन्तुष्टि थुप्रिसकेका छन् । बैठक पेचिलो नै होला’ नेकपाका एक स्थायी कमिटी सदस्यको आँकलन छ ।

मूलतः बैठकमा पार्टीका तल्लो कमिटी–जनसङ्गठनको एकीकरण र सरकारको समीक्षा, सचिवालयका निर्णयलगायत मुख्य एजेन्डा बन्नेछन् । त्योबाहेक बैठकमा बोल्ने स्थायी कमिटी सदस्यले अन्य असन्तुष्टि पनि राख्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार असन्तुष्ट नेताहरू सरकारको काम र सचिवालयको एकलौटी निर्णयबारे बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफमै जुटेका छन् ।  स्थायी कमिटीका एक नेता भन्छन्, ‘अध्यक्षद्वयले आलोचना सुन्न नसकेर बारम्बार बैठक स्थगित गर्दै आएका थिए । एकताले पूर्णता नपाउँदै पार्टीमा निरासा बढ्दो छ । सरकारका काम प्रभावकारी बन्न सकेका छैनन्’ ती नेताले भने, ‘विधानमा स्थायी कमिटीलाई निर्णायक भनिएको छ तर सबै निर्णय सचिवालयबाटै हुँदै आएका छन् । यसरी कहिलेसम्म पार्टी चल्छ ? यी सबैको जवाफ नेतृत्वले दिनुपर्छ ।’

पार्टी विधानले नै निर्णायक मानेको स्थायी कमिटी बैठक बारम्बार स्थगित हँुदा नेकपाका धेरै नेताहरूमा असन्तुष्टि छ । ती असन्तुष्टि स्थायी कमिटीमा पोखिने छन् । सचिवालयले बैठकको मिति शनिबार मात्र तय गरे पनि बैठक अरू लम्बिने नेताहरूको दाबी छ ।

पछिल्लो समय नेकपामा आधारभूत तहसम्म एकताले पूर्णता नपाउँदा कार्यकर्ताहरूमा मात्रै होइन, नेताहरूमा पनि अन्यौलता छ । नेकपाले अहिलेसम्म सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको टुङ्गो लगाएको छ । असोज ५ गते र मङ्सिर १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटी पदाधिकारी र सदस्यहरूको टुङ्गो लगाएको थियो । तर त्यो निर्णयप्रति सचिवालय र स्थायी कमिटीका अधिकांश नेता असन्तुष्ट छन् ।

सचिवालयको उक्त निर्णयलाई प्रस्तावका रूपमा स्थायी कमिटीमा नलगी नामावली सार्वजनिक गरिएको भन्दै सचिवालयकै चार शीर्ष नेता असन्तुष्ट छन् । त्यो निर्णयप्रति स्थायी कमिटीका अधिकाशं नेताहरू पनि आक्रोशित भएका छन् ।

त्यस्तै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भोलिको बैठक पेचिलो बन्ने सङ्केत गरिन् । ‘यसअघि बारम्बार स्थायी कमिटीको बैठक स्थागित हुँदै आएको छ । पार्टी एकतापछि निर्णायक तहको स्थायी कमिटीको बैठक बसेको छैन’, नेता शाक्यले भनिन्, ‘भोलिको बैठकमा मुख्य त सरकारको कामको समीक्षा हुनुपर्छ । त्यसबाहेक पार्टीलाई विधि र प्रक्रियामा कसरी लैजाने भन्नेमा गम्भीर छलफल हुन्छ ।’

नेता शाक्यले नेतृत्वको सङ्कीर्ण सोचाइ र अपरिपक्व निर्णयले गर्दा सरकार र पार्टीको ओलोचना भइरहेको गुनासो गरिन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार