महोत्तरी । महोत्तरीमा आफ्नो अनैनिक सम्बन्ध लुकाउन एक पुरुषलाई यौन प्रलोभन देखाएर हत्या गरेको खुलेको छ । औरही नगरपालिका २, फूलबरियाका ४० वर्षीय बचु महतोको हत्या यौन प्रलोभन देखाएर भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । उनको हत्याको आरोपमा स्थानीय २२ वर्षीया जितनी देवी महतोलाई गएको बिहीबार पक्राउ गरेपछि यसको रहस्य खुलेको हो ।
आफूले लगाएको काउली खान नीलगाईले आउने भएकाले अबेरसम्म खेतमै रहन बचुले गएको मंसिर २४ आफ्नो खेत नजिकै उखुबारीमा जितनी र २४ वर्षीय छिमेकी सुशील सहनीलाई आपत्तिजनक अवस्थामा देखेका थिए ।
बचुलाई देख्ने बित्तिकै सुशील भागेका थिए भने बचुले जितनीलाई हप्काउँदै श्रीमानलाई भनिदिने धम्की दिँदै मोबाइल खसेको बयानमा जितनीले प्रहरीलाई भनेकी छन् । त्यसपछि जितनी र सुशीलको योजनाअुसार बेचुलाई यौन सम्पर्कका लागि राति सोही खेतमा बोलाइन्।
त्यसपछि उखुबारीमा पुगेका बचु र जितनी गफ गरिरहेका बेला सुशील र उनका छिमेकी अनिलकुमार शर्मा (ठाकुर) बेचुलाई पछाडिबाट आफैँले लगाएको ज्याकेटले घाँटी कसेर हत्या गरेको अनुसन्धानमा खुलेको हो ।







