५ पुस, काठमाडौं । ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा बढ्दै गएपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंकले कडा चेतावनी दिएको छ ।
बिहीबार बालुवाटारमै बोलाएर सीईओहरुलाई तत्काल ब्याजदर घटाउन राष्ट्र बैंकले चेतावनी दिएको हो । ‘ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा देखियो, मेरो नेतृत्वमा हिजोमात्रै अर्थमनत्रालयलाई एउटा प्रतिवेदन पनि बुझाएको छु’ बैठकमा सहभागी राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले भने, ‘हामीले ब्याजदर नघटाए कडा रुपमा प्रस्तुत हुन्छौं भनेका छौं ।’
बैंठकमा गभर्नर डा. चिरञ्जीवि नेपाल, डेपुटी गभर्नर द्वय श्रेष्ठ र चिन्तामणि सिवाकोटी नै सहभागी थिए । करिब २ घण्टा चलेको बैठक अपरान्ह ३ बजेमात्रै सकिएको थियो ।
डेपुटी गभर्नर श्रेष्ठका अनुसार राष्ट्र बैंकले ब्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशत, संस्थागत मुद्धति खातामा ८.५, बचतमा ६.५ र कल डिपोजिट ४.५ प्रतिशत ब्याज दिन भनेको छ ।
राष्ट्र बैंकको कडा चेतावनीलगत्तै बैंकर्स संघको बैठक बसेको थियो । बैंकर्स संघका एक सदस्यले भने, ‘ब्याजदको विषयमा धेरै चर्चा परिचर्चा भयो, राष्ट्र बैंकले पनि हामीलाई घटाउन भनेको छ । भोलिदेखि नै घट्न शुरु हुन्छ ।’
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि बचत तथा निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकेको थियो । निक्षेपमा ११ प्रतिशभन्दा बढी ब्याज दिन नपाइने गरी संघले सीमा लगाए पनि पछिल्लो समय तरलता समस्या बढेको भन्दै त्यो सीमा फुकुवा गरिएको थियो ।
संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए । अब पुनः फेरि संघले सीमा लगाउने भएको छ । थप निर्णय भने बैंकर संघले नै गर्ने बैठकमा सहभागी ती बैंकरले बताए । ‘राष्ट्र बैंकले संयमित हुन आग्रह गरेपछि संघको बैठक बसेर यस विषयमा आवश्य निर्णय लिने कुरा भएको छ’ उनले भने ।
कुमारी, नविल, सेञ्चुरी, हिमालयन लगायतका बैंकले मुद्धति निक्षेपको ब्याज यतिबेला १३ प्रतिशत पुर्याइसकेका छन् ।







