काठमाडौं । महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङ ललितपुरको कार्यालय प्रमुख सुत्ने कोठामा गोली लागेर प्रहरी हवल्दार घाइते भएको घटना सम्बन्धमा छानबिन समिति गठन गरिएको छ ।
घटना सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति शनिबार गठन गरिएको हो ।
गएराती सवा ९ बजेतिर लाकुरीभञ्ज्याङ प्रहरी प्रभागका प्रमुख असई रमेश तामाङलाई भेट्न गएका महानगरीय विपद व्यवस्थापन प्रहरी कार्यालय सामाखुशीमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठलाई गोली लागेको थियो ।
जवान श्रेष्ठ र असई तामाङको स्थायी घर दोलखा बैतेश्वर गाउँपालिका–२ गैरीमुदी हो । उनीहरुको एकै गाउँको साथी हुन् ।
असई तामाङले पेस्तोलबाट गोली अनलोड गर्ने क्रममा अकस्मात पड्कन जाँदा प्रहरी जवान श्रेष्ठको बायाँ गालामा गोली लाग्दा घाइते भएकोले तत्काल उपचारको लागि किष्ट अस्पताल ईमाडोल लगिएको थियो ।
प्रारम्भिक उपचार पश्चात नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक तामाङलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सो परिसरले जनाएको छ ।







