८ पुस, काठमाडौं । लिग लिडर मनाङ मर्स्याङ्दी क्लब शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि नजिक पुगेको छ । अब उसले बिहीबार संकटालाई हराए दुई खेल अगाडि नै उपाधि पक्का गर्ने छ ।
लगातार १०औं जित हात पार्ने क्रममा मनाङले आइतबार विभागीय टोली पुलिसलाई १–० गोलले हराएको हो । ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा मनाङका लागि विदेशी खेलाडी अडेलजा सोमिडेले निर्णायक गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफमा भने गोल खान पुग्यो ।
खेलको ५२औं मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । मनाङले अन्तिम समयसम्म आफ्नो अग्रतालाई कायमै राख्दा पुलिसले भने गोल गर्ने राम्रो अवसर खेर फालेका थिए ।
लिगमा १० खेलबाट मनाङले शतप्रतिशत जित हात पार्दै ३० अंक भएको छ । दोस्रो स्थानमा रहेको संकटा क्लबभन्दा पनि पाँच अंकले मनाङ अघि रहेको छ । त्यसकारण पनि मनाङको उपाधि जित्ने सम्भावना प्रवल रहेको हो ।
लिगको दोस्रो स्थानमा रहेको संकटाको १० खेलबाट २५ अंक रहंदा लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको २३ अंक रहेको छ ।







