कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परि रिहा भएका विशाल चौधरीको परिवारले प्रहरीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । गएको साउन १० गते घरबाट साथीको घर हिँडेकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको भोलिपल्ट ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थाम शव फेला परेको थियो । सोही घटनामा संलग्न भएको आशंकामा पक्राउ गरिएका विशाल चौधरीलाई शारीरिक र मानसिक यातना दिएर जबरजस्ती आरोप स्वीकानर्ए लगाएको दाबी गरिएको छ ।
सोमबार विशालका बाबु वीर बहादुर चौधरीले कञ्चनपुर प्रहरीले विशाललाई यातना दिएको भन्दै आयोगको क्षेत्रीय कार्यालय धनगढीमा उजुरी दिएका हुन् । बाबु वीर बहादुरले छोरालाई निर्मम यातना दिएको भन्दै छानबिन गरी आवश्यक काबारही गर्न सिफारिश पाउँ भन्दै उजुरी दिएका छन् । छोरालाई मानसिक तथा शारीरिक यातना दिएर निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार्न दवाव दिएको निवेदनमा उल्लेख गरिएको छ ।
प्रहरीले यातना दिएर अपराध स्वीकार्न लगाएर कञ्चनपुरमा भनेअनुसार काठमाडौंमा नभने मारिदिने धम्की दिएको निवेदनमा उल्लेख छ । गएको मंसिर १९ गते भीमदत्त नगरपालिका, १८ घर नजिकैबाट पक्राउ परेका विशालको डिएनएन नमिलेपछि ७ पुसमा परिवारको जिम्मा लगाएको थियो । तर, विशालको परिवारले लगाएको आरोप भने कञ्चनपुर प्रहरीले अस्वीकार गरेको छ । कञ्चनपुर प्रहरीले विशाललाई कुटपिट नगरेको जनाएको छ ।







