
राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले इतिहासमा चिनियाँ क्रान्तिका नायक माओका योगदानहरू निकै माथि रहेको भन्दै अब इतिहासको समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।
विप्लव नेकपाद्धारा काठमाडाैंमा अायाेजित अन्तक्रियामा बाेल्दै केसीले एसिया प्यासिफिक सम्मेलनको अर्थ कम्युनिस्ट विचारलाई निस्तेज पार्ने रहेको भन्दै केसीले माधव नेपालले २२ वर्षदेखि एन्टी कम्युनिस्ट फोरमको नेतृत्व गरिरहेका रहेछन् भने तिनका कार्यकर्ता कस्ता थिए होलान् भनी प्रश्न गरे । एन्टीकम्युनिस्ट विचारको नेतृत्व माधव नेपालले नै गरेको उनको दाबी थियो ।
माओवादी जनयुद्धपछि नेपालमा केही हुन्छ कि भन्ने लागेको बताउँदै केसीले भने, ‘जनयुद्धले केही गर्छ कि भन्ने लागेको थियो । जनसेना गठन भएको थियो । संयुक्त मोर्चाहरू पनि गठन भएका थिए । तर बिस्तारै दिन ढल्दै गयो । प्रचण्ड–बाबुरामका नाममा विलीन भएर हराएर गयो । मुनको अमृत खानका लागि त्यो त्याग, बलिदान र यो परिवर्तन भएको हो ?’
डा. केसीले भने, ‘अहिलेका तमाम समस्याहरूको समाधानको उपाय एकीकृत जनक्रान्ति हो भन्ने मलाई पनि लागेको छ । तर कदापि बेइमानी र धोका हुनु हुँदैन ।’ केसीले व्यङ्ग्य गर्दै भने, ‘हिजोको जस्तो क्रान्ति होइन, निकै त्याग र बलिदानीबाट आएको क्रान्तिमा यति ठूलो प्रतिक्रान्ति हुँदा पनि किन मानिस हेरेर बसेका छन् ? के अचम्म भैरहेको छ ? मानिस किन घाम तापेर बसिरहेका छन् ?’







