सत्तारुढ दल नेकपाको झण्डै १० दिनको स्थायी कमिटी बैठकका क्रममा उठेका पार्टी तथा सरकार नेतृत्वको कार्यशैलीको आलोचनालाई बेवास्ता गर्दै आगामी दिनमा व्यवस्थित तरिकाबाट अघि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आश्वासन आएपछि स्थायी कमिटी सदस्यहरुले उनलाई कडा चुनौती र नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिएका छन्।

स्रोतका अनुसार बिहीबार धुम्बाराहीमा चलेको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी र सरकार हिँडेको गति ठिक भएको र हालसम्म सम्पन्न काम पारदर्शी र व्यवस्थित भएको भन्दै सदस्यहरुलाई त्यसमा विचलित नहुन आग्रह गरेका थिए।

करिब दुई घण्टा लामो आफ्नो भाषणमा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारका कारण विकासका ढोका खुलिसकेको, त्यसलाई सफल बनाउन आवश्यक कानुन निर्माण भइरहेको बताएका थिए। उनले सरकारका कार्यशैलीका परिणामहरु देखिँदै जाने भएकाले सबैले धैर्य गर्नु पर्ने समेत बताएका थिए ।

प्रधानमन्त्री ओलीले आफूहरुले उठाएका कुनै पनि मुद्दालाई सम्बोधन नगरेको भन्दै लगत्तै नेता बामदेव गौतमले आफूले पेश गरेको प्रतिवेदन अनुसार एउटा अध्यक्षले पार्टी चलाउने एउटाले सरकार चलाएमा मात्रै अहिलेका समस्या सम्बोधन हुने बताएका थिए। उनले हालसम्म भएका कमीमजोरीलाई लिएर नेतृत्वले आत्मआलोचना गर्नै पर्ने जिकीर गरेका थिए।

त्यसलगत्तै स्थायी कमिटी सदस्य घनश्याम भुषालले हात उठाउँदै ओलीलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालद्वारा शुक्रबारको बैठकमा प्रस्तुत प्रस्ताव र आश्वासन प्रतिकूल भएको भन्दै दिनदहाडै नेतृत्वले आफुहरुलाई अन्धकारमा धकेल्न खोजेको बताएका थिए। ‘कमरेड प्रचण्डले कमिटी बैठकमा उठेका समस्यालाई एजेण्डा बनाएर छलफल गरौँला भन्नु भएको थियो हिजो मात्रै। तर, अध्यक्षको हैसियतमा रुलिङ गरेको कुरालाई दिनदहाडै यस्तो के गरेको हो ?’ भुसालले ओलीलाई प्रश्न गरेको उनलाई उद्धृत गर्दै स्रोतले उल्लेख गर्‍यो।

त्यसलगत्तै स्थायी कमिटिका अर्का सदस्य भीम रावलले नेतृत्वले आफुहरुको माग संगठन र कमिटि गठन, युनिफिकेशन चर्चको विवादास्पद सम्मेलनमा सरकारको संलग्नताबारे पनि संबोधन नगरेको भन्दै आक्रोशित बनेका थिए । उनले आफुहरुको माग समयमै र सहीढंगबाट संवोधन नगर्ने हो भने आफुले ‘नोट अफ डिसेन्ट’ लेख्ने र पार्टीको तल्लो तहसम्म आफ्नो प्रभाव जमाउने भन्ने धम्की दिएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिमा असन्तुष्टी प्रकट भइरहेका बेला विवाद मत्थरका लागि शुक्रबार विहान धुमबाराहीमा स्थायी कमिटि बैठक बस्ने भएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार