१३ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सरस्वती युथ क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले सरस्वती क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । आर्मीको जितमा कप्तान भरत खवासले दुई गोल गरे । त्यस्तै, नवयुग श्रेष्ठले एक गोल गर्दा अर्को गोल भने सरस्वतीका खेलाडीले आत्मघाती गोल गरेपछि उपहार स्वरुप पाएका थिए ।
खेलको छैटौ मिनेटमा नै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । खेलको ३०औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए ।
पहिलो हाफमा दुई गोलले अघि रहेको आर्मीले खेलको दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । आर्मीका लागि खेलको ६१औं मिनेटमा भरतले अर्को गोल गर्दै खेल ३–० गोलको अग्रतामा पुर्याएका थिए । त्यस्तै, खेलको ८० औं मिनेटमा ओलुसोला इब्राहिमले आत्मघाती गोल गरेपछि आर्मीले ४–० गोलले जितेको हो ।
जितसँगै चौथो स्थानमा रहेको आर्मीले लिगमा ११ खेलबाट २१ अंक बनाएको छ । पराजित सरस्वती भने लिगको १०औं स्थानमा छ ।
बिहीबार संकटा क्लबलाई पराजित गरेसँगै दुई खेलअघि नै मनाङ मर्स्याङ्दी क्लबले लिगको उपाधि जितिसकेको छ ।







