अहिले नेपाली कन्सल्टेंसी(जापान सँग सम्बन्धित) बजारमा एउटा शब्दले महन्गै भाउ पाईरहेको छ। त्यो हो N4। के हो त N4? बिशेषत अहिले त्यो N4 को सिझा सम्बन्ध जापान सरकारले २०१९ को एप्रिलबाट कामदारको रुपमा जापान भित्र्याउन लागेको कामदारका लागि लिईने परिक्षा प्रणाली सँग देखाईएको छ। जुनकुरा आजका मिति सम्म भ्रामक छ। यो केवल भ्रामक हल्ला चलाएर लुटतन्त्र मच्चाउन खोज्ने कन्सल्टेंसी ब्यवसायीहरुको कपोलकल्पित स्वघोषित निर्णयमात्र हो।

के हो N4?

जापान सरकारले मान्यता दिएको जापानीज भाषाको एउटा स्तर हो N4। यहाँ N भन्नाले निहोन्गो(जापानीज भाषा) र 4 भन्नाले जापानिज भाषाको ५ स्तर मध्य दोश्रो सजिलो स्तरको अंकगणितीय नाम हो। N4 स्तर सन् २०१० बाट शुरु भएको र यो पहिलेको N3 सँग मिल्दोजुल्दो छ(श्रोत: JLPT homepage) ।

के हो जापानका लागि भिषाको नयॉं प्रकृया?

तिब्रगतिमा अत्याधुनिक बिकासको फड्को मारिरहेको जापानी समुदायमा काम गर्न सक्ने उमेर समुहका युवा-युवतीको संख्यामा दैनिक ह्रास आईरहेको छ। यसका कारणहरु धेरै भए पनि मुख्यकारण भने जापानको समाजको बनावट र जापानी रहनसहन लाई लिन सकिन्छ। दैनिक काम नगरे जीवन यापन गर्ननै गाह्रो पर्नु(आर्थिक रुपमा), विबाहपस्चात महिलाले काम कम गर्नु, जसले श्रीमानको कमाइले परिवार पाल्न कठिन हुनु, बालबच्चा भएपछिको खर्चलाई धान्न नसक्ने डरले विवाह नै नगर्नु र गरे पनि बच्चा नजन्माउनु जस्ता कारणहरुले जापानको जनसंख्या मात्र हैन, जन्म दर र कामगर्न योग्य मानिसको दरमा ह्रास आईरहेको हो। बजारको यहि कामदारको मागलाई पुरागर्न जापान संसदले केहिदिन अघि बिदेशी कामदार जापानी रोजगार बजारमा भित्र्याउने निर्णय गरेको हो। स्मरण रहोस, यो आध्यादेस संसदमा प्रस्ताव भई पारित हुँदा जापानी साँसदहरु बीच मतान्तर मात्र हैन हात हालाहाल सम्म भएको थियो। बिपक्षमा मत राख्ने सॉंसदहरुले अहिले आईरहेका प्रशिक्षार्थी कामदारहरु भागेर लुकिछिपि काम गरेको र मृत्यु हुनेको संख्या बढेकोले सिधा कामदारको रुपमा बिदेशी भित्र्याउदा यो समस्या झनै बिकराल हुने तर्क राखेका थिए। जुनकुरा धेरै हदसम्म ठीक हुँदाहुँदै पनि उक्त नियम बहुमत सॉंसदको मतले पारित गरेको हो। जस अनुसार जापान सरकारले सन २०१९ को एप्रिल महिना बाट बिदेशीकामदार आफ्नो श्रम बजारमा भित्र्याउने जमर्को गर्दैछ। यो कुरा बिकसित देश चिन तथा थाइल्यान्ड ले त स्वीकार गरे भने नेपाल जस्ता अल्पबिकसित देशलेत सहजै स्वीकार्ने नै भयो। पहिला ७ वटा देश बाट कामदार ल्याउने भनि गरेको निर्णयलाई २ दिन मै पुनर्विचार गर्दै २ देश थपेर ९ वटा देशबाट बिभिन्न क्षेत्रमा कामदार ल्याउने निर्णय जापान सरकारले सार्वजनिक गर्यो।

अब कुरा गरौं जापानी श्रम बजारमा नेपाली कामदारलाई कति सहज? कति असहज?

हरेक देशका आ-आफ्नै रहनसहन, भेष भुषा तथा संस्कृति हुन्छन। लामो इतिहास बोकेको जापानमा त अझ किन भन्ने प्रश्ननै गरेर नसकिने संस्कार र संस्कृति छन। त्यस्तै नेपालमा पनि लामो इतिहास बोकेको संस्कृति नभएका हैनन्। तर के फरक छ ल नेपाल र जापान बीचमा। जापान सैयौं बर्ष देखि बिकासमा फट्को मारेको सु-संस्कृत, सु-शिक्षित तथा सु-शासित देश हो। प्रबिधिमा संसारमै अगाडि रहेको जापान अत्याधुनिक रोबर्टको बिकास, संसारकै छिटो कुद्ने रेल(सिन्खान्सेन), ज़मीन मुनिका मुसाका प्वाल(धेरै) जस्तै मेट्रो रेल, अत्याधुनिक कृषि प्रणाली, २४ घन्टा संचालित कम्पनी, सम्बेदनशील क्षेत्रमा झुटो नबोल्नु तथा समयको विशेष ख़्याल गर्नु जापानका परिचय हुन। नेपाललाई जापान सँग तुलना गर्दै हेरौं। नेपालको पनि इतिहास पुरानो भए पनि अल्पबिकसित, पुरातन शैलीको घोकन्ते शिक्षा प्रणाली, अनुभूति बिहिन शुसासन, प्रबिधिमा अत्यन्त न्यूनतम बिकास, सज्जन र ईमान्दार मान्छेहरु हरेक क्षेत्रको मूलधार बाट पछाडि, अझ भनौं हल्लाको सुनामी चल्ने देश तथा समयको महत्वलाई बुझ्न नसक्ने नेपालका परिचय हुन। यति धेरै असमान्ता भएको एक देशले बिदेशी कामदारको रुपमा अन-स्किल, अप्रशिक्षित कामदार भित्र्याउनु र अर्को देशले संबेदनहिन तथा अपरिपक्क ढङ्गबाट आफ्ना नागरिकलाई कामदारको रुपमा बिदेशमा पठाउदा दुबै देशलाई केके फाईदा र घाटा हुन्छन्। बिकसित देश, जापान लाई सरसरति हेर्दा आवश्यक कामदारको बजारमाग लाई पुर्ति हुने फाईदा हुन्छ।

अल्पबिकसित देश नेपाललाई संबन्धित ब्यक्तिको ब्यक्तिगत आर्थिक बिकास हुन्छ। अब कुरा गरौं घाटाको। जुन ठाउमा गईन्छ त्याहॉंको रहनसहन, संस्कार, संस्कृति तथा भाषाको न्यूनतम ज्ञ्यान पनि नलिई जॉंदा उक्त देशको समाज त पुर्णरुपमा ध्वस्त हुन्छ नै, त्यस देशका नागरिकले अनाहकमा दु:ख, झन्जट तथा असुविधा झेल्नु पर्छ। उता कुरागरौं जहाँबाट गईन्छ त्यहॉं के घाटा हुन्छ। चीन, भियतनाम तथा थाइल्यान्ड जस्ता बिकसित देशबाट कामदारको रुपमा जापान जानु भन्दा नेपाल कम्बोडिया तथा फिलिपिन्स जस्ता अल्पबिकसित देशबाट जापान जॉंदा धेरै गुणा गाह्रो हुन्छ। यसका पनि केहि कारणहरु छन। जसमध्ये जापानीज भाषाको कमी र संबन्धित क्षेत्रको सहि परामर्शको कमी मूख्य हुन। बिधार्थी भिषामा जापान जाने बिधार्थीले नै जापानीज भाषालाई महत्व नदिंदा सहि सुचना ग्रहण गर्नबाट बन्चित हुनुका साथै, के गर्ने र के नगर्ने भनेर छुट्याउन नसक्दा बिभिन्न घट्नाहरु घट्दै आएकोले जापान अध्यागमन बिभागले नब प्रबेशाज्ञॉंमा कडाईमात्र हैन जापान बस्दै आएका नेपालीहरुलाई मानसिक टर्चर दिने तथा भिषा नबिकरण नगराई नेपाल फर्किन बाध्य पारिराखेको छ। यति मात्र हैन, सहि परामर्श तथा भाषाकै कमीले जापानमा नेपालीहरुले दु:ख मात्र हैन अकालमा ज्यान सम्म गुमाईरहेका छन्।

यी घट्ना निम्तिनुमा को-को दोशी?

पहिलो दोशी त संबन्धित ब्यक्तिनै हुन्छ। बिदेस त्यो पनि स्वर्ग झैं सम्झिने र बिदेशमा पैशाको बोट छ भनेर भ्रम पाल्ने नेपाली युवायुवतीहरुको चेतनाको कमीनै यो घट्नाको मूख्य दोशी हुन। त्यस्तै अर्को दोशी अबिभावक हुन।

आफ्नो सन्तान काहॉं जादैछ, किन जॉंदैछ र मेरो ज़िम्मेवारी के हो भनेर बुझ्न नखोज्नु यो घट्नाको कारक तत्व बन्दै आएको छ। तेस्रो तथा उत्ताउलो दोशी परामर्शदात्री(कन्सल्टेंसी)। पैशा कमाउने नाममा भ्रामक र गलत परामर्श दिएर बिदेश पठाउनु दोश मात्र नभएर अपराध नै हो भन्दा अनर्थ नहोला। एक त आफु(परामर्शदात्री) नै जापानको बारेमा अनबिज्ञ हुनु र अर्को आफ्नो फाईदाका लागि बास्तविक कुरा लुकाएर झुटो परामर्श दिनु सॉंच्चै अपराधनै हो। गलत परामर्शले परामर्शदाता को आर्थिक पक्ष त सबल बन्ला तर यही ग़लत परामर्शले जापान गएर एक अबोध नागरिकले अनेकन दु:खमात्र हैन अनाहकमै ज्यान जॉंदा त्यो परामर्शदाताले त्यों घट्नाको ज़िम्मेवारी लिनु पर्छ कि पर्दैन? परामर्श जस्तो अतिनै संबेदनशील कार्य लाई होम हुन लागेको लुडोको गोटी झैं २ भए नि ठीक ३ भए नि ठीक भनेर बोल्न कतिसम्म जायज हुन्छ? कुनैपनि कुराको परामर्श दिन के-के कुराको ज्ञान लिनु पर्छ भन्ने सम्म ध्यान नदिई परामर्श संस्था(कन्सल्टेंसी) खोल्नु फेरी पनि भन्छु अपराध नै हो। अब फेरी जोडौं उहि N4 कै कथा। जापान सरकारको श्रम मन्त्रालय ले अहिलेसम्म पनि निर्णय गरेको छैन कि जापानमा काम गर्न जान N4 नै चाहिन्छ। कामको प्रकृति हेरेर भाषाको नयॉं पाठ्यक्रम र स्तर निर्धारण गरिनेछ भनिरहेको बेला नेपाली परामर्शदात्रीले आफैं तोकिदिए कि N4 भनेर।

अझ यतिसम्म गर्न भ्यायकी जापान सरकारले बिदेशी कामदार भित्र्याउने निर्णय नै नगर्दै बिभिन्न(EPS) प्रणालीको पाठ्यक्रममा आधारित जापानिज भाषाको अध्यापन गराइन्छ। २ वटा पम्प्लेट त मैलेनै आफ्नो फ़ेसबुक वालमा राखेको थिएँ जुन एउटा काठमान्डौको किर्तिपुर र अर्को सुनसरीको ईटहरीमा अवस्थित झुटल्टेन्सी(झुट कन्सल्टेंसी) हुन। यिनीहरुलाई न नेपाल सरकारले कार्बाही गर्यो न समाजले सामाजिक बहिस्कार! त्यसकारणले त भन्छन जे गरे नि हुने देश हो नेपाल। त्यस्तै अर्कों रबैया मच्चाए नेपाली अलपत्रकार(अल्पज्ञानी पत्रकार) ले। त्यो हो तलब ३ लाख, नेपाललाई उच्च प्राथमिक्तामा( सबै पत्रकार अलपत्रकार छैनन्)। यिनीहरुलाई मेरो पनि भन्नु केहि छैन। मेरो भन्नु चाहिं छ नेपाली परामर्शदाता(कन्सल्टेंसी, जापान संबद्ध) हरुलाई। सिधा कुरा छ, N4को चरित्र हत्या नगर्नुस आफ्नो फ़ेसबुक वालबाट। तिम्रा भाषा शिक्षकनै N4अध्यायनका लागि उपर्युक्त छैनन् तिनिहरुले N4को अध्यापन गराउनुत चिउरा सँग गिट्टी चपाय जस्तै हो, न चपिन्छ चिउरा न गिट्टी । (सबै भाषा शिक्षक यसमा पर्दैनन्) अझ भनौं जापानका मूख्य शहरको नाम पनि शुद्ध भन्न नजान्ने र मिन्नानो निहोन्गो/ देकिरु निहोनगो को नाम नै नसुनेका( म:म भन्नुस) हरुले फ़ेसबुक वालमा N4को क्लास भनेर बिस्ट्यायको देख्दा कन्सिरि तातेर आउछ। N4को भूत चढेका अघोषित अपराधिहरुहो यसले तिमीहरुलाई त थोरै सताउला तर ति सोझा नागरिक लाई आलस तालस नै पार्नेछ। तिमीहरुलाई याद रहोस N4मा कम्तिमा पनि ३०० वटा खान्जी र १५०० वटा शब्दज्ञानको जरुरी हुन्छ जुन तिम्रा भाषा शिक्षकहरुले अझै पढ्नै बॉंकि छ। यहाँ केवल भाषाको मात्र कुरा हैन भाषा सँगै जापानी संस्कार, संस्कृति, समाजको बनावट, खानपान आदिकुराको ज्ञान तिमीहरुले नै दिनुपर्छ। तयार छौं? कि टालटुलमै बर्षा कटाउने विचार छ?

एउटा कुरा सर्बसाधारण नागरिक लाई जानकारी गराऊँ कि नेपाली ३०% कन्सल्टेंसी ले मात्र N4को कक्षा संचालन गर्ने क्षमता राख्छन्। र नेपाली कन्सल्ट्यान्ट हरुलाई कसैको अकालमा ज्यान जाने सम्मको घट्ना घट्न नदिन खोपडीमा चढेको N4को भूत हटाउन अनुरोध छ। त्यस्तै लहैलहै मा नलाग्न र मीठाकुरामा नफस्न पनि सर्बसाधारण सबैमा बिनम्र अनुरोध छ। जापान देश सजिलो छैन अनाहक मा दु:ख र अकालमा ज्यान जान बाट जोगिऊँ र जोगाऔं।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार