१४ पुस, काठमाडौं । दाङको शहिद कृष्णसेन ईच्छुक प्राविधिक शिक्षालय यसै वर्षदेखि सञ्चालनमा आएको हो । आफ्नै क्षेत्रमा खोलिएको विद्यालयमा प्राविधि शिक्षा हासिल गर्नका लागि दाङ मात्र नभएर रुकुम, रोल्पा अछामसम्मबाट एसइई पास गरेका विद्यार्थीहरु दाङ सदरमुकाम झरेका थिए ।
पहिलो ब्याज भए पनि फरेस्टी पढ्नेहरुको चाप राम्रै थियो । पुस ६ गते फरेस्टीका विद्यार्थी व्यवहारिक शिक्षाका लागि सल्यानस्थित मुलपानीमा रहेको वनस्पति उद्दानको अवलोकनका लागि बा ४ ख ९७६६ नम्बरको बसमा हुइकिए । बसमा २ शिक्षक, ३२ विद्यार्थी र गाडीका ३ जना कर्मचारी थिए ।

उनीभन्दा भाग्यमानी साथी कुशेन्द्र खत्री रहेछन् । उनी वान्ता गर्नका लागि टाउको बाहिर निकालेर बसेका थिए । त्यही बेला बस घुम्तीमा नघुमेर सिधै भीरतिर झर्यो । उनले रुखको डाली समाउन पाए, अनि सकुशल भए । तर, जुम्लाबाट फरेस्टी पढ्न आएका उनका १२ जना साथी भने सधैंका लागि उनलाई छाडेर गइसकेका छन् ।
ट्रमा सेन्टरकै बेडमा अछामका १६ वर्षीय भद्र विष्ट घाँटीसम्म ब्लाङ्केट ओडेर सुतेका छन् । खुइलिएको टाउको र अनुहारभरि चोट देखिन्छ । उनका पनि औँला र खुट्टाको हाड फुटेका छन् ।
ट्रमा सेन्टरको पाँचौं तलाको बेडमा १६ वर्षीया रोजिना पुन मगर शरीरभरि चोट बोकेर लडिरहेकी छिन् । उनका खुट्टा कोतरिएका छन्, अनुहारको छाला खुइलिएको छ । हिपमा निकै ठूलो चोट छ । शरीरमा त्यस्तो कुनै खाली भाग छैन, जहाँ चोट नलागेको होस् ।
तर, सानीभेरी रुकुमकी रोजिनालाई बेहिसाव चोटको प्रवाह छैन । यतिसम्म कि अहिलेसम्म दुर्घटना भएको पनि थाहा पाएकी छैनिन् । यतिबेला उनलाई कुन ठाउँमा के गरिरहेछिन् भन्नेसमेत हेक्का छैन । निदाइ मात्र रहन्छिन्, कति–कति बेला बोल्छिन् । बरु उनकी आमा लक्ष्मी पुनलाई यो सब घटनाले ठूलो चोट दिएको छ । उनको चोट आँखाबाट छचल्किन्छ र भन्छिन्, ‘अहिलेसम्म केही स्वर नै पाएकी छैन । उसको कुनै होस नै छैन । हामीले केही जानकारी पनि दिन सकेका छैनौँ ।’
बस झर्दै गर्दा आधा भीरतिर नपुग्दै बस दुई फ्याक भयो । र, रोजिना त्यही भीरमा उछिटिइन् । अहिले उनी ट्रमा सेन्टरको बेडमा छिन् । शुक्रबार उनलाई भेट्दा आमाबुवा हिपको अप्रेशनको तयारीमा थिए ।
ट्रमा सेन्टरको छैठौं तलामा छिर्ने वित्तिकै बायाँतर्फको बेडमा देखिन्छिन्, बंगालापुरी–१, दाङकी १६ वर्षीय मेनुका रिजाल । बस बजारिने जमीनभन्दा करिव एक सय मिटर माथिको दाउरामा नअल्झिएको भए सायद उनी अहिले ट्रमा सेन्टरको बेडमा हुन्नथिन् ।

मेनुका राम्रैसँग बोल्छिन् । उनको टाउकामा अहिले टाँकाले भरिएको छ । भाँचिएको दाहिने हातमा लामो प्लास्टर छ, करङका पाँचवटा हाड भाँचिएका छन् । उनलाई कुरेर छेउमै बसेका बाबा दोमाकान्त रिजाल भन्छन्, ‘डाक्टरले करङको हाडको अप्रेशन गर्नुपर्दैन भनेका छन् । खै, यत्तिकै निको हुन्छ कि हुँदैन ।’
अर्का एकजना भने आइसियुमा अहिले पनि अचेत अवस्थामा छन् । दुर्घटना भएको भोलिपल्ट उनीहरुलाई हेलिकप्टरमा राखेर ट्रमा सेन्टर ल्याइएको थियो ।
१२ जनामध्ये सात घाइते अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । उनीहरु सबैको उपचार सीटीइभीटीले गरिदिएको बिरामीका आफन्त बताउँछन् ।
तस्वीरहरुः शंकर गिरी







