प्रहरीले झापाबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

केन्द्रीय लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले २३३ ग्राम ब्राउन सुगरसहित चार जनालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा पाँचथर नवमीडाँडा–८ घर भई दमक–६ बस्ने संग्रामसिंह आङ्देम्बे, ताप्लेजुङ थुम्बेदिन घर भई झापा अर्जुनधारा नगरपालिका–१० का भीमबहादुर अधिकारी, ओममाया खतिवडा र झापा कचनकवल–२ की रेवतीमाया डाँगी छन्। लागुऔषध तस्करी भइरहेको सूचनाका आधारमा ब्युरो र झापा प्रहरीले शनिबार दिनभरि खोजी गरेको थियो।

झापाका प्रहरी उपरीक्षक भीम ढकालका अनुसार खोजी क्रममा सुरूमा शनिबार दिउँसो आङ्देम्बे ३१ ग्राम ब्राउनसुगरसहित विर्तामोडबाट पक्राउ परेका थिए। आङदेम्बेमाथि अनुसन्धान गर्दा अर्जुनधारा नगरपालिका–१० का भीमबहादुर अधिकारीको घरमा २३१ ग्राम ब्राउन सुगर फेला परेको थियो।

‘आङदेम्बेमार्फत खोजी गर्दा अर्जुनधारास्थित भीमबहादुरको घरमा दुध राखेको भाँडोभित्र ब्राउन सुगर प्याक गरेर राखेको अवस्थामा अन्य तीन जनालाई पक्राउ गरिएको हो,’ ढकालले सेतोपाटीसँग भने। ढकालका अनुसार ब्राउन सुगर संकलन गरेर काठमाडौं पठाउन लागिएको थियो।

पक्राउ परेकाहरूबाट लागुऔषध तौलिन प्रयोग गरिने डिजिटल तराजु, मे१०प ६३० नम्बरको बुलेट मोटरसाइकल, दुई थान मोबाइल र १३ हजार रुपैयाँ बरामद भएको ढकालले जानकारी दिए। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको ढकालले बताए।setopati

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार