सल्यान । बाग्चौर नगरपालिका–२, थारमारेस्थित जनकल्याण नमुना माविमा कक्षा १० मा अध्ययनरत विशाल बस्नेतलाई दुई शिक्षकले कुटेका छन् । शिक्षकको कुटाइबाट बस्नेत घाइते भएका छन् ।
बुधबार दिउँसो १२ बजेतिर विद्यालयमा बस्नेत र अर्का एक विद्यार्थीबीच सामान्य झगडा हुँदा सहायक प्रधानाध्यापक तुलसीराम बस्नेत र यामबहादुर घर्तीले उनीमाथि कुटपिट गरका हुन् ।
विद्यार्थीका बुवा तेजबहादुरका अनुसार शिक्षकको कुटाइबाट विशाल बेहोस भएका थिए । उनका अनुसार बेहोस अवस्थामै बस्नेतको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा ल्याएर उपचार गरिएको छ ।
कुटाइबाट पेट, टाउको, छाती र खुट्टामा चोट लागेको छ । अहिले उनको अवस्था सामान्य बन्दै गएको अभिभावकले बताए । विद्यालयका प्रधानाध्यापक पूर्ण भण्डारीले दुई विद्यार्थीबीच झगडा शिक्षकले छुट्याउन खोजेको बताए । झगडा छुट्याउने क्रममा विद्यार्थीलाई सामान्य चोट लागेको उनको दाबी छ







