अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासङ्घका केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा र महासचिव केशव बुढाथोकीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बुढाथोकीलाई ललितपुर महानगरपालिका –१८ नख्खुबाट र उपाध्यक्ष विकास थापालाई ललितपुर महानगरपालिका २५, भैंसेपाटी चोकबाट सङ्गठनको कामको सिलसिलामा बिहीबार बिनाकारण गिरफ्तार गरेको अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासङ्घले जनाएको छ । गिरफ्तार गरिएका लोकेन्द्र थापासमेतलाई लगी उनकै घरमा शुक्रबार लगेर प्रहरीले तोडफोड समेत गरेको जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासङ्घका अध्यक्ष अमर झाँक्रीले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त कार्यको घोर भत्र्सना गर्दै गिरफ्तार गरिएका कार्यकर्ताहरुलाई अविलम्ब रिहा नगरे संघर्षमार्फत् दलाल संसदीय व्यवस्थालाई जवाफ दिने घोषणा समेत गरेका छन् ।

अध्यक्ष झाँक्रीको विज्ञप्तिमा भनिएको छ, ‘सङ्घर्ष र वीरताको इतिहासले भरिपूर्ण हाम्रो सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले पछिल्लो पटक जारी गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली २०७५ का विरुद्ध आफूलाई संघर्षमा केन्द्रित गर्न पुगेको छ । आफूलाई कम्युनिस्ट सरकारको हवाला दिंदै दलाल संसदीय व्यवस्थाको रक्षामा तल्लीन सामाजिक दलाल वर्गले रुप पक्षका दृष्टिले सुखी नेपाली समृद्ध नेपालको नारा अन्तर्गत विभिन्न ऐन नियमावली घोषणा गरिरहेको छ भने राष्ट्र र जनताका समस्याहरु एकपछि अर्को सङ्कटतर्फ बढिरहेको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको हल्ला गरी उत्पीडित वर्गलाई थप उत्पीडन गर्ने र समृद्ध नेपाललाई थप पराधीन बनाउँदै लगिरहेको वर्तमान दलाल संसदीय व्यवस्थाका विरुद्ध हाम्रो सङ्गठनले चौतर्फी भण्डाफोर र प्रतिरोध संघर्ष अगाडि बढाइरहेको छ ।’

यसैबीच नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीका जिल्ला अध्यक्ष काजी गुरुङलाई गए राती प्रहरीले गिरफ्तार गरेको छ । उनलाई पोखराको अमरसिंहचोकबाट गिरफ्तार गरिएको छ । गिरफ्तार गुरुङलाई कहाँ राखिएको छ र किन गिरफ्तार गरिएको हो भन्ने बारेमा प्रहरीबाट आधिकारिक जानकारी आएको छैन । अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीले आफ्नो फेसबुक स्टाटसमार्फत आफ्नो सङ्गठनका केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङलाई तुरून्त निस्शर्त रिहा गर्न माग गर्दै निस्शर्त रिहा नगरे परिणाम भयानक हुने चेतावनी दिएका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा गुरुङ गुरुङ गिरफ्तारीको कारण खुलाउंदै अघि लेखेका छन्, ‘हिजो कामको सिलसिलामा सहिद स्मृति आवासीय विद्यालय पोखरामा भएको भ्रष्टाचारको विषय उठाएका कारण सामाजिक फासिवादी दलालहरूको दुई तिहाई सरकारका मतियारहरूले प्रतिष्ठानका अध्यक्ष हरि अधिकारी (कुमार)को सुराकीमा गिरफ्तार गरिएको बुझिएको छ । गिरफ्तारिले तिम्रो कदम विरूद्ध अझ आक्रामक र निर्मम भएर लाग्ने ताकत पैदा गर्ने छ ।’

यसैबीच अद्यक्ष गुरुङ गिरफ्तारीमा परेको जानकारी जिल्ला उपाध्यक्ष आस्था नेपालीले आफ्नो फेसबुक स्टाटसमार्फत दिएकी छिन ।आफ्नो फेसबुक स्टाटसमा उनले अघि भनेकी छिन, ‘अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष क.काजी गुरुङलाई दलाल प्रहरी प्रशासनले बिनाकारण गिरफ्तार गरेको छ । गिरफ्तार कमरेड काजि गुरुङलाई बिना सर्त यथा शिघ्र रिहा गर होइन भने सडकमा आगो बाल्न नपरोस् !!’

जिल्ला उपाध्यक्ष नेपालीले आफ्नो स्टाटसमा ‘यो लोकतन्त्र हो, राजतन्त्र होइन विचार गर !! नेपालीले फरक मत, फरक विचार राख्न पाउने अधिकार हो तर राज्य यति आतंकित किन ???’ भनेर प्रश्न गरेकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार