
वाइडबडी खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख घोटालाको मुख्य आरोपी नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दलेको आरोपमा वैद्य माअाेवादीका कार्यकर्ता गिरफ्तार भएका छन् ।
साे पार्टी निकट क्रान्तिकारी युवा लिग, नेपालका नेता समेत रहेका सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन लिगका केन्द्रीय सचिवालय सदस्य तामाङलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले चन्द्रागिरी–४, थानकोटबाट पक्राउ गरेको जनाएको छ ।
तामाङलाई घरबाट खाना खाएर बाहिर निस्कन खोज्दा विहान ११ बजे घरैबाट गिरफ्तार गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको बुझिएको छ ।
गत शुक्रबार कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको थियो ।उक्त घटनामा तामाङ संलग्न देखिएकाले पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताएका छन् ।
उनका अनुसार घटनामा संलग्न अन्यको समेत खोजी भइरहेको छ । तामाङको पक्राउको विषयलाई क्रान्तिकारी माओवादी र क्रान्तिकारी युवा लिगले वक्तव्य जारी गर्ने तयारी गरिरहेको छ ।
वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो ।







