
राेल्पाकाे एक स्कुलमा पढाइरहेका एक शिक्षकलार्इ जनयुद्धकालीन झल्को दिनेगरी प्रहरीले गिरफ्तार गरेको छ ।
अखिल नेपाल शिक्षक संगठन रोल्पाका सचिब समेत रहेका भुपबहादुर केसीलाई रोल्पा नगरपालिका-१, सल्लिवोट स्थित आधारभूत विद्यालयको कक्षाकोठाबाटै जिल्ला प्रहरी कार्यालय रोल्पाले विना कारण गिरफ्तार गरेको हो ।
स्कुलमा पढाउँदै गरेका शिक्षकलाई विनाकारण गिरफ्तार गरीएको विद्यालय प्रशासनले जानकारी दिएको छ । ‘एक हुल प्रहरी सिभिल ड्रेसमा आएर समातेर लगे, कुनै पूर्जी र कुनै कारण पनि भनेन्’, एक शिक्षकले भने, ‘यो त जनयुद्धकालमा पनि हुन्थेन ।’
यता नेपाल शिक्षक संगठन रोल्पाका अध्यक्ष प्रेम केसीले भुपबहादुर केसी चन्दाको विरोधी भएको र केसीले कुनै पनी चन्दा उठाउने कार्यमा साथ नदिएको जानकारी दिएका छन् ।
उनले केसीलाई कक्षा कोठामै पढाई रहेको समयमा आइतवार विहान १०: ४५ बजे गुण्डागर्दी शैलिमा पक्राउ गरेको आरोप समेत लगाए ।
उनले भने- ‘यदि नियन्त्रणमै लिनु पर्ने भएपनि १०–४ कार्यालय समय भन्दाबाहिर लिएको भए हुन्थ्यो, दुइ तिहाईवाला सरकारले दम्भ देखाउदै अराजक प्रवृति देखायो ।’
उनले शिक्षक केसीलाई विनासर्त रिहाइ नगरे रोल्पाको सम्पुर्ण शैक्षिक संस्थाहरु ठप्प पारिदिने चेतावनी समेत दिएका छन् ।







