काठमाडौं। टि–२० लिगको क्रिकेटको सबैभन्दा ठूलो मानिएको प्रतियोगिता इण्डियन प्रिमियर लिग भारतमै हुने भएको छ । भारतमा आसन्न निर्वाचलाई मध्यनजर गर्दै यो लिग यस वर्ष भारतमा हुने वा नहुने भन्नेमा अन्योल थियो ।
भारतीय क्रिकेट बोर्ड बिसिसिआइले मंगलबार आइपिएलका सबै खेल भारतमै खेलिने जानकारी दिएको हो । बीसिसिआइले जारी गरेको विज्ञप्तिमा बोर्डको कमिटी अफ एडमिनिस्ट्रेटरका सदस्यहरुसँग छलफल गरी खेल हुने मैदान र मितिबारे निर्णय गरिएको उल्लेख छ ।
आइपिएल आगामी मार्च २३ देखि सुरु हुनेछ । खेलको तालिका सम्बन्धित पक्षसँग छलफल गरेपछि बनाइने बिसिसिआइले जनाएको छ । यसअघि २००९ र २०१४ मा निर्वाचनका कारण आइपिएल भारतबाहिर गरिएको थियो ।
२००९ मा आइपिएल दक्षिण अफ्रिकामा भएको थियो भने २०१४ मा सुरुवाती आधा खेलहरु युएइमा आयोजना गरिएको थियो । यस वर्ष भारतमा आयोजना गर्न नपाइएको अवस्थामा दक्षिण अफ्रिकामा आयोजना गर्ने तयारी गरिएको थियो ।







